नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

९६ वेडको कोभिड अस्पताल सञ्चालनमा, ओखलढुङ्गामा होल्डिङ सेन्टर बनाईने

ओखलढुङ्गान्युज बैशाख १७, विराटनगर प्रदेश १ सरकारले शुक्रबार देखि कोरोना संक्रमितको उपचारका लागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल शुक्रबारवाट देखि सञ्चालनमा आएको हो ।

अस्पतालमा आजदेखि नै कोरोना संक्रमित विरामी भर्ना शुरु गरिएको छ । विरामी भर्ना गर्नुअघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले अस्पतालको निरीक्षण गर्नुभएको थियो ।

अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले अहोरात्र काम गरिरहेको बताउनुभयो । मुख्यमन्त्री राईले कोरोनाा संक्रमण दर बढेसँगै प्रदेश तथा जिल्ला स्तरमा उपचारको प्रवन्ध पनि गर्दै गएको बताउनुभयो । मुख्यमन्त्री राईले विराटनगर बाहेक जिल्ला स्तरमा पनि २० वेड सम्मको आईसोलेसन केन्द्र निर्माणका लागि जिल्ला अस्पतालहरुलाई निर्देशन दिईसकिएको बताउनुभयोे ।

अनुगमनका क्रममा मुख्यमन्त्री राईले प्रदेश १ का ५ स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय भएको बताउनुभयो । उहाँले विराटनगरको रानी, झापाको काकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सुनसरीको भाण्टाबारी र ओखलढुङ्गामा  होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको समेत जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल अत्याधुनिक रहेको बताउदै कोभिड अस्पतालको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भईसकेको बताउनुभयो । एउटा सिफ्टमा १९ जना स्वास्थ्य कर्मचारी रहने गरि व्यवस्थापन गरिएको मन्त्री राईले बताउनुभयो । अपुग जनशक्तिका लागि पनि व्यवस्थापनको तयारी भईरहेको मन्त्री राईको भनाई छ ।