नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

हाटबजार बन्द गर्ने मोलुङको निर्णय, २० गते सम्म सबै अन्तिम परीक्षा सक्नुपर्ने

ओखलढुङ्गान्युज बैशाख  १५, २०७८ बढ्दो क्रममा रहेको कोरोना भाईरस संक्रमणलाई लिएर मोलुङ गाउँपालिकाले आफ्नो क्षेत्र भित्र रहेर सञ्चालन हुने सबै हटिया बजार सञ्चालनमा रोक लगाएको छ । मंगलबार बसेको मोलुङ गाउँकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

मंगलबार बसेको कार्यपालिकाको बैठकले बैशाख १६ गते देखी राजधानी लगायतका क्षेत्रमा लगाईएको लकडाउनका कारण आफ्नो पालिकामा प्रबेश गर्ने नागरिकहरुको चापलाई मध्यनजर गर्दै सार्वजनिक यातायात सञ्चालन हुने स्थानमा मास्क, सेनिटाईजर र हातधुने सावुन सहितको पानीको व्यबस्थालाई अनिवार्य गराएको छ । जिल्ला भन्दा बाहिरवाट पालिका भित्रने नागरिकहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुसार होम क्वारेन्टीन तथा होम आईसोलेसनमा बस्नुपर्ने भन्दै आवश्यकता परेका पालिकावाट स्वास्थ्य जाँच सेवाको व्यबस्थापन समेत गर्नेछ ।

त्यस्तै कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कार्यपालिकाको बैठकले गाउँपालिका अन्तर्गतका सम्पुर्ण विद्यालयको अन्तिम परिक्षा मिति बैशाख १६ गते देखि बैशाख १९ सम्म दुई सिफ्टमा न्यूनतम सुरक्षाको मापदण्ड अपनाई संचालन गरी परिक्षा सम्पन्न पश्चात अर्को सूचना नआए सम्मको लागी  बैशाख २० गते देखि भौतिक रुपमा बिद्यालय पुर्ण रुपमा बन्द गराउने निर्देशन दिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिनुभयो ।

विद्यालय वन्द भएको अबधीमा सम्भव भएसम्म बैकल्पिक माध्यमवाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नपनि पालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ । सूचना अधिकारी नेपालका अनुसार हाट बजार बन्द भएपनि नागरिकहरुको अत्यवश्यक सामाग्रीको रुपमा रहेको खाध्यन्न तथा तरकारी लगायतका सामग्रीलाई उपलब्ध हुनवाट भने बञ्चित गराईने छैन ।

शहरवाट नागरिकहरु गाउँपालिका प्रवेश गर्दै गर्दा कोरोना संक्रमण फैलन सक्ने सम्भावना पनि उच्च रहेको भन्दै सबै नागरिकहरुलाई सचेत रहन पालिकाले अनुरोध समेत गरेको छ ।