नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपाललाई

ओखलढुङ्गान्युज, ११ बैशाख । काठमाण्डौं । नेपालले पहिलो पटक त्रिकोणात्मक टी–२० सिरिजको उपाधि घरेलु मैदानमा जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिवार भएको फाइनलमा नेदरल्याण्ड्सलाई एक सय ४२ रनले हराउँदै टी–२० सिरिजको उपाधि पहिलो पटक उचालेको हो ।

शनिवार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई २ सय ३९ रनको विजय लक्ष्य दिएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । नेपालले दिएको २ सय ३९ रनको लक्ष्यलाई पछ्याएको नेदरल्याण्ड्स १७ दशमलब २ ओभरमा अलआउट हुँदै ९६ रन बनाउन मात्र सफल भयो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओडोउडले २०, कप्तान पिटर सीलारले १३ र सेबस्टियान ब्राटले अविजित २६ रन बनाए । बाँकी ब्याट्सम्यानले आजको फाईनल खेलमा दोहोरो अंक जोड्न सकेनन् ।

आज नेपालले बनाएको रन टी–२० अन्तराष्ट्रिय खेलमा नेपालले विपक्षी टिमलाई दिएको सर्वाधिक ठूलो रनको कीर्तिमानी लक्ष्य हो । यसअघि टी–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक रन २ सय ३६ रहेको थियो । नेपालमा आयोजना भएको १३ औं सागमा भुटान विरुद्ध नेपालले २ सय ३६ रन जोडेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनायो । नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशल भुर्तेलले ७७ रनको योगदान गरे।  जारी श्रृंखलामा भुर्तेलको यो चौथो अर्धशतक हो । योसँगै  कुशलले एकै सिरिजमा नेपालको तर्फबाट टी–२० मा चार अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

यसअघि कुशलले डेब्यू खेलपछि लगातार तीन टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडीको विश्व कीर्तिमान बनाएका थिए । डेब्यू खेलपछि कुशलले लगातार तीन खेलमा अर्धशतक बनाएका थिए । कुशल मल्लले २४ बलमा ५ छक्का र २ चौकासहित ५० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ५ चौका र ३ छक्कासहित ४८ रनको आक्रामक पारी खेले। मल्लको यो पहिलो टी–२० अर्धशतक हो। यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३ चौका र २ छक्कासहित ३३ र आसिफले ८ बलमा २ छक्का र १ चौकाको मद्दतमा १६ रनको योगदान दिए ।