नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

थोलेदेम्बा कप भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई

ओखलढुङ्गान्युज, १ बैशाख । खिजिदेम्बा । ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकामा आयोजना गरिएको अन्तरपालिका स्तरिय भलिवल प्रतियोगीताको उपाधी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले जितेको छ । ३३ सय ५० मिटरको उचाईमा रहेको जिल्लाको खिजिदेम्बा गाउँपालिकामा पर्ने देम्बाडाँडामा नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाले जितेको हो ।

प्रतियोगितामा विजेता हुदै मेलम्ची नगरपालिकाले नगद रु १ लाख सगै शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै प्रतियोगितामा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका दोश्रो, मोलुङ गाउँपालिका तेश्रो भएको छ । आयोजक खिजिदेम्बा गाउँपालिकाको टिम भने सान्त्वना स्थानमा मात्रै चित्त बुझाउन बाध्य भएको छ । प्रतियोगितामा दोश्रो भएको सिद्धिचरण नगरपालिकाले नगद रु ५० हजार, तेश्रो भएको मोलुङ गाउँपालिकाले रु २५ हजारका साथै शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । सान्त्वना स्थान प्राप्त गरेको आयोजक टिमले पनि नगद रु १० हजार हात पारेको छ ।

विजेता भएका टिमलाई प्रमुख अतिथि ओखलढुङ्गावाट निर्वाचित संघिय प्रतिनिधी सभाका सांसद माननिय यज्ञराज सुनुवारले नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको हो । प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि यज्ञराज सुनुवारले अहिलेसम्म कै अग्लो स्थानमा आयोजना भएको भलिवल प्रतियोगितामा सहभागी हुनुभएकोमा सबै प्रतियोगी टिम तथा  खेलाडीहरुलाई धन्यवाद दिनुभयो । कोरोनाले थला पारेको पर्यटन क्षेत्रलाई उठाउने उद्देश्यका साथ पर्यटन प्रबर्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै यस्ता प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरुले पर्यटन प्रबर्धनमा बढावा आउने विश्वास ब्यक्त गर्नुभयो ।

नेपाल सरकारले घोषणा गरेको सय गन्तव्य सुचिमा परेको ओखलढुङ्गाको ३३ सय ५० मिटर उचाईमा रहेको देम्बाडाँडामा गत चैत २९ गते देखी प्रतियोगितााको आयोजना गरिएको थियो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, मनोरञ्जनका लागि खेलकुद, खेलकुद पर्यटन प्रबद्र्धनका लागि खेलकुद भन्ने नाराका साथ दावा एग्रो टुरिजम प्रा. लि. ले आयोजना गरेको प्रतियोगितामा ओखलढुङ्गा, रामेछाप तथा सिन्धुपाल्चोक जिल्लाका गरि सातओटा टिमले सहभागीता जनाएका थिए । प्रतियोगिताको उद्घाटन ओखलढुङ्गाका प्रदेश सांसद एवम् प्रदेश नं. १ अर्थ समितिका सभापति मोहन कुमार खड्का हिमशिखरले गर्नुभएको थियो ।

प्रतियोगितामा निर्णायकको भूमिका भने अन्तरास्ट्रिय रेफ्री बिकास गुरुङ र राष्ट्रिय रेफ्री खुम गाउले मगरले गरेका थिए । दावा एग्रो टुरिजम प्रा.लि.को आयोजनामा भएको उक्त प्रतियोगिताको समापनका दिन जिल्ला तथा स्थानीय कलाकारहरुले सास्कृतिक कार्यक्रम मार्फत दर्शक तथा अतिथिहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको खेलकुद संयोजक आङ छेपाल शेर्पाले जानकारी दिए । देम्बाडाँडामा पर्यटन प्रबर्धनलाई टेवा पु¥याउन तथा भ्रमणमा आउने पर्यटकहरुलाई सेवा पु¥याउने होम स्टे समेत सञ्चालनमा रहेको छ । होम स्टे मार्फत एकपटकमा करीब सय जनालाई सेवा प्रदान गर्न सकिने दावा एग्रो टुरिजम प्रा. लि.का अध्यक्ष आङ दावा शेर्पाले बताए ।