नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

एमालेमा प्रवेश गरेका वडा अध्यक्ष थापालाई २४ घण्टे स्पष्टिकरण

ओखलढुङ्गान्युज, चैत २६, २०७७ ओखलढुङ्गा केही दिन अगाडी माओवादी केन्द्रवाट एमालेमा प्रवेश गरेका ओखलढुङ्गा चम्पादेवी गाउँपालिकाका वडा अध्यक्ष शुरेश थापालाई नेकपा माओवादी केन्द्रले २४ घण्टे स्पष्टिकरण सोधेको छ । चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष थापालाई माओवादी केन्द्र ओखलढुङ्गाले विहिबार ईमेल तथा चिठी पठाउदै २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

नेकपा माओवादी केन्द्रको चैत २५ गते बसेको जिल्ला कमिटिको बैठकले वडा अध्यक्ष थापालाई एमालेमा प्रबेश गरेको भन्ने विषयमा २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार सामाजिक सञ्जालमा आएको कुरा र एमालेमा प्रबेश गरे/नगरेको विषयमा पत्र तथा ईमेल मार्फत थापालाई स्पष्टिकरण सोधिएको माओवादी केन्द्र ओखलढुङ्गाका अध्यक्ष मोहन कुमार खड्का हिमशिखरले जानकारी दिनुभयो ।

स्पष्टिकरण सोधिएको समयावधी भित्र थापाले जवाफ नफर्काए वा चित्त बुझ्दो जवाफ नदिएमा निर्वाचन आयागको नियमानुसार कार्वाहीको लागि लेखि पठाउने तथा पार्टीले पनि कार्बाही गर्ने जिल्ला अध्यक्ष खड्काले बताउनुभयो । 

तर वडा अध्यक्ष थापाले माओवादी केन्द्रले स्पष्टिकरण सोधेको विषयमा आफुलाई केही पनि जानकारी नभएको बताए ।

२०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्ष थापा चम्पादेवी गाउँपालिका वडा नं. ७ मा नेकपा माओवादी केन्द्रको तर्फवाट निर्वाचित भएका थिए । थापा गत चैत २२ गते आईतवार नेकपा एमालेमा प्रवेश गरेको सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको थियो । स्पष्टिकरणको विषयमा सोध्दा वडा अध्यक्ष थापाले आफु कुनै पार्टिमा प्रवेश नगरी पुरानै पार्टीमा रहेको बताए । तर वडा अध्यक्ष थापा आफैले पनि एमालेमा प्रवेश गरेको समाचारलाई सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र नेकपा एमाले विच एकता भएर बनेको नेकपा (नेकपा) लाई बिघटन गरिदिएपछि अहिले केन्द्रदेखी स्थानीय तहसम्म नै नेता तथा कार्यकर्ता एकअर्को पार्टीमा प्रवेश गर्ने क्रम बढेको छ । आफ्नो पार्टीवाट निर्वाचित भएका नेताहरु अर्को पार्टीमा प्रवेश गरेपछि पार्टिहरुले स्पष्टिकरण सोध्नुका साथै कारबाही गर्नेक्रम पनि तिव्र गतिमा बढेको छ ।