नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

प्रदेश नं. १ का विस्तारित मन्त्रिमण्डललाई शुक्रबार सपथ

ओखलढुङ्गान्युज, चैत १४, २०७७ विराटनगर शुक्रबार प्रदेश नं. १ को मन्त्रिपरिषद् पुनर्गठन भएसँगै नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराइएको छ । नेकपाको एकता भङ्ग हुनुभन्दा अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम चालेको भन्दै तत्कालीन मन्त्रिहरुले राजिनामा दिएपछि प्रदेश नं. १ को मन्त्रालहरुमा मन्त्री खाली भएका थिए ।

खाली मन्त्रालयको मन्त्रीहरु थपिने क्रममा मन्त्रिमण्डलका नयाँ अनुहारहरूमा माधव नेपाललाई छाडेर ओली पक्षमा आएका र माओवादी छाडेर एमाले भएकाहरु प्राथमिकतामा परेका छन् । मुख्यमन्त्री राईले आफसलाई अप्ठ्यारो परेका बेला सघाउने सांसदहरुलाई मन्त्री नियुक्तमा प्राथमिकता दिएका छन् । मन्त्रिहरुलाई नियुक्ति र सपथ ग्रहण गराउदै गर्दा भने सत्ताधारी पार्टी नेकपा एमाले भित्र खटपट सुरु भएको छ । सपथ ग्रहण समारोहलाई प्रभावशाली मन्त्री हिक्मत कार्कीले बहिष्कार गरेसँगै पार्टी भित्रको खटपट पनि बाहिर आएको हो ।

शुक्रबार सपथ ग्रहण गरेका मन्त्रीहरूमा भर्खरै माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङसहित उषाकला राई, अम्बिरबाबु गुरुङ, राम राना, कला घले र राजकुमार ओझा रहेका छन् । आङ्बुहाङलाई अर्थ मन्त्रालय दिइएको छ भने सामाजिक विकास मन्त्रालयमा उषाकला राई, भौतिक पूर्वाधारमा अम्बिरबाबु गुरुङ र कृषिमा राम रानाले जिम्मेवारी पाएका छन् ।

त्यस्तै कृषि राज्यमन्त्रीमा कला घले र वन राज्यमन्त्रीमा राजकुमार ओझाले जिम्मेवारी पाएका छन्। उनीहरुलाई मुख्यमन्त्री शेरधन राईले सपथ गराएका हुन् भने मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले सपथ गराउनु भएको थियो ।

यसअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका इन्द्रबहादुर आङ्बोलाई आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय रहेको भन्दै मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए भने सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जयमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएर अविश्वास प्रस्ताव पक्षमा हस्ताक्षर गरेका थिए।