नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

कोरोना खोप लगाउन ओखलढुङ्गामा उत्साहजनक सहभागीता

ओखलढुङ्गान्युज, चैत , २०७७ ओखलढुङ्गा कोरोना भाईरस विरुद्धको खोप लगाउनका लागि ओखलढुङ्गाका नागरिकहरुले उत्साहजनक सहभागीता जनाएका छन् । शोमबारसम्म ओखलढुङ्गामा १३ हजार ३ सय ४० जनाले खोप लगाएका छन् । यो ओखलढुङ्गामा लगाउने खोपका लक्ष्य अनुसार ८६ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कार्यालयका खोप निरीक्षक पुष्पराज पन्तले कोरोना विरुद्धको खोपमा ओखलढुङ्गामा ८६ प्रतिशत प्रगती भएको जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयले ओखलढुङ्गाका आठओटै स्थानीय तहमा १५ हजार ३ सय ८४ जनामा कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखेको थियो । शोमबारसम्म ओखलढुङ्गामा १५ सय भाईल खोप आएको पनि उहाँले जानकारी दिनुभयो ।

नेपाल सरकारले खोपको मात्रा उपलब्ध गराउनका लागि अलिक नसक्ने भन्दै ६५ वर्ष भन्दा माथिकालाई मात्र खोप दिने भनिएपनि ओखलढुङ्गामा भने ५५ वर्ष माथिका सबैलाई लगाईएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख तिवारीका अनुसार ओखलढुङ्गाका सिद्धिचरण नगरपालिका बाहेक सातओटै स्थानीय तहमा ५५ वर्ष माथिका नागरिक, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई कोरोना विरुद्धको खोप लगाईएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार शोमबारसम्म लिखु गाउँपालिकामा १६९६, चम्पादेवी गाउँपालिकामा १९८०, खिजिदेम्बा गाउँपालिकामा १८८६, मोलुङ गाँउपालिकामा १८३२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यस्तै चिशंखुगढी गाउँपालिकामा १५५८, मोभञ्ज्याङ्ग गाउँपालिकामा २३७९ र सुनकोसी गाउँपालिकामा २००९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सिद्धिचरण नगरपालिकामा भने ३५ ओटा खोप सेवा केन्द्र मार्फत चैत ५ गते देखी खोप अभियान कार्यक्रम सञ्चालन हुनेछ । 

कोरोना विरुद्धको खोप लगाउनका लागि दीर्घ रोगी र बच्चालाई दुध खुवाउने महिलाले लगाउन हुने कि नहुने भन्ने बारेमा बारम्बार प्रश्न आउने गरेको भन्दै स्वास्थ्य प्रमुख तिवारीले उनीहरुलाई प्राथमिकताका आधारमा खोप लगाईने र कुनै असर नगर्ने बताउनुभयो । तिवारीका अनुसार कोभिड खोप लगाएपछि केही व्यक्तिहरुलाई सामान्य ज्वरो, जिउ दुख्ने जस्ता लक्षण देखिएपनि केही दिनमा नै ठिक हुन्छ । त्यसैले ढुक्क भएर खोप लगाउन सबैलाई स्वास्थ्य प्रमुख आग्रह गर्नुभएको छ ।