नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्री ओलीको उदण्डता अन्त्य गर्न सत्ता साझेदारी हुन्छ ः कांग्रेस नेता आङ्दाम्बे

ओखलढुङ्गान्युज, फागुन २९, २०७७ । ओखलढुङ्गा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्दाम्बेले प्रधानमन्त्री केपी शर्मा ओलीको उदण्डता अन्त्य गर्न अन्य पार्टीसँग सत्ता साझेदारी हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन ओखलढुङ्गाले शनिवार ओखलढुङ्गामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संयोजक आङ्दाम्बेले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओली तानाशाह बन्ने बाटोमा लागेकाले उनको उदण्डता अन्त्यका लागि ओली नेतृत्वको सरकार विस्थापन अत्यावश्यक भएको भन्दै नयाँ सरकार बन्ने परिस्थिति निर्माण हुँदा कांग्रेसले नै त्यसको नेतृत्व गर्ने बताउनुभयो । ओली नेतृत्वको नेकपाको सरकारले जनताको अभिमत र भावनालाई तहसनहस पारेको भन्दै नेता आङ्दाम्बेले उनको नेतृत्वको सरकारको विस्थापन अनिवार्य रहेको समेत बताउनुभयो ।

तत्कालीन अवस्थामा नेपाली कांग्रेस सरकारमा जान नहुने आफ्नो धारणा रहेको भएपनि कांग्रेस प्रमुख प्रतिपक्षी दल भएकाले कांग्रेस पार्टी सभापति देउवा प्रधानमन्त्री हुने कुरामा मात्रै सत्ता समिकरणमा सहभागी हुने प्रष्ट पार्नुभयो। ओली नेतृत्वको नेकपाले न्यायलयलाई समेत आफ्नो कार्यकर्ता उत्पादनको थलो बनाएको उहाँको आरोप छ । देशको हरेक सिष्टम तहसनहस भएकोले लोकतन्त्र नै संकटमा परेको बेला कांग्रेसले मात्रै अहिले विग्रिएको स्थितीलाई सहि बाटोमा ल्याउनेसक्ने उहाँको दावी छ ।

केही राजनितीक पार्टीले राखेको मागलाई सत्ता समिकरणमा शर्तका रुपमा स्वीकार गर्न नहुने भन्दै आङ्देम्बेले कांग्रेस सत्ता समिकरणमा नेतृत्व गर्ने अवस्थामा मात्रै नेपाली कांग्रेस सरकार चलाउन तयार हुने बताउनुभयो । एक फरक प्रसंगमा नेता आङ्दाम्बेले कांग्रेसले अनुशासनको कुरालाई कडाई पूर्वक कार्यान्वयन गर्ने बताउदै आगामी २०७८ भदौ महिना भित्र जसरी पनि नेपाली कांग्रेसको केन्द्रिय अधिबेशन हुने बताउनुभयो ।