नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

लोक दोहोरी गित प्रतियोगितामा कुन्तादेवी प्रथम

ओखलढुङ्गान्युज, फागुन २५, २०७७ प्राप्चा १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरिएको लोक दोहोरी गीत प्रतियोगितामा कुन्तादेवी प्रथम भएको छ । दिवस अन्तर्गत शोमबार मोलुङ गाउँपालिका भित्रका आमा समूहहरुका विचमा भएको लोक दोहोरी प्रतियोगितामा मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीको शान्तादेवी स्वास्थ्य आमा समूह प्रथम भएको हो ।

त्यसैगरि प्रतियोगितामा परिकल्पना स्वास्थ्य आमा समूह मोलुङ गाउँपालिका वडा नं. ६ दोश्रो, भूमेदेवी स्वास्थ्य आमा समूह मोलुङ ३ तेश्रो र सिमलटार स्वास्थ्य आमा समूह मोलुङ ३ प्राप्चाले सान्त्वना स्थान प्राप्त गरेको छ । मोलुङ गाउँपालिका भित्र रहेको ७५ ओटा स्वास्थ्य आमा समूहहरु मध्ये प्रतियोगितामा २२ ओटा समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा विजयी भएकाहरुलाई मोलुङ गाउँपालिकाका उपाध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि हेम कुमारी तामाङले नगद पुरस्कार वितरण गर्नुभएको थियो ।

पुरस्कार वितरणको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हेम कुमारी तामाङले ८ मार्चको दिन विश्वव्यापी रुपमा महिला दिवस कार्यक्रम मनाउने प्रचलन अनुसार मोलुङमा पनि पालिका स्तरिय कार्यक्रमको आयोजना गरिएकोमा आयोजकलाई धन्यवाद दिनुभयो । पहिलेको तुलनामा पछिल्ला दिनहरुमा लैङ्गिक हिंसाका घटना तथा बलात्कारका घटनाहरुमा बृद्धि हुदै गएकोमा चिन्ता व्यक्त गर्दै बलात्कार र हिंसा जन्य घटनाको न्यूनिकरणका सबै एकजुट भएर लागिपर्नुपर्ने बताउनुभयो । त्यसका लागि आगामी दिनहरुमा समेत गाउँपालिकाले महिला सशक्तिकरणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रम मोलुङ गाउँपालिकाको सहयोग तथा सोच नेपाल ओखलढुङ्गाको समन्वयमा मोलुङ गाउँपालिका स्तरिय आमा समूह सञ्जालले आयोजना गरेको हो । कार्यक्रमलाई मोलुङ गाउँपालिका वडा नं. १, ३, ५ नम्बर वडाका वडा अध्यक्षसँगै सथानीय राजनितिक दलका नेताहरुले समेत शुभकामना दिएका थिए ।