नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

प्रदेश नं. १ को आज हुने भनिएको प्रदेश सभा बैठक स्थगित

ओखलढुङ्गान्युज, फागुन २०, २०७७ । विराटनगर । प्रदेश नं. १ को विहिबार  बस्ने गरी तय भएको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले २० गते विहिबार बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरेको जनाएको हो । सूचना अनुसार अर्को बैठक चैत २ गते बस्नेछ ।

सत्तापक्ष सांसद तथा मन्त्रीहरुको अनुपस्थितीमा पनि प्रदेशसभाको फागुन ९ गते बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धमा अविश्वासको प्रस्ताव पेश भएको थियो ।  अविश्वासको प्रस्तावका बारेमा अर्को बैठकमा छलफल गर्नेगरि भन्दै फागुन २० गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले अविश्वासको प्रस्तावलाई विहिबार हुने प्रदेशसभामा कसरी छलफल गराउँछन् भन्ने विषय चासोका साथ हेरिएको बेला बैठक नै स्थगित गरेको हो । सूचना टाँस गरेर प्रदेश सभा बैठक स्थगित गरेकोमा प्रचण्ड–माधव समूह भने असन्तुष्ट बनेको छ ।

बुधवार जारी गरिएको सूचनामा भनिएको छ, ‘यस प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक मिति २०७७ साल फागुन २० गते बिहीबार दिनको १ः०० बजे बस्ने गरी तोकिएकोमा विशेष कारणले उक्त बैठक मिति २०७७ साल चैत्र २ गते सोमबार दिनको १२ः३० बजे प्रदेश सभाहल, प्रदेश नं. १, विराटनगरमा बस्ने व्यहोरा मानीनय प्रदेशसभा सदस्यहरुको जानकारीका लागि प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ ।’