नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओली सरकारको उपहार, तीनसाता नपुग्दै पेट्रोलियम पदार्थमा तेश्रो पटक मूल्यवृद्धि

ओखलढुङ्गान्युज, फागुन १७, २०७७ । काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा वली नेतृत्वको सरकारले शोमबार फेरी अलोकप्रिय निर्णय गरेको छ । सरकारले तीनसाता नपुग्दै पेट्रोलियम पदार्थको तेश्रो पटक मूल्यवृद्धि गर्ने अलोकप्रिय निर्णय गरेको हो । यसअघि एकसातामा दुई पटक मूल्यवृद्धि गरेको सरकारले सोमबार फेरि मुल्य बढाएको हो ।

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जनाएको छ। निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । शोमबार निगमले हवाई ईन्धनको समेत मूल्य बृद्धि गरेको छ । निगमले शोमबार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरेको छ ।

शोमबार सार्वजनिक गरिएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेल ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर आठ सय ९३ अमेरिकी डलर कायम भएको छ । अन्य पेट्रोलियम पद्धार्थको मूल्य बढाईए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यस पटक बढाइएको छैन । ग्यासको मुल्य एक हजार ४ सय रुपैयाँमा यथावत छ । निगमले यस अघि फागुन ४ र माघ २८ गते पनि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो।