नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

प्रदेश नं. १ का मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता

ओखलढुङ्गान्युज, फागुन , २०७७ विराटनगर आईतवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्धको प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ । आईतवार केही ढिलो गरि सुरुवात भएको प्रदेश नं. १  को प्रदेश सभाको बैठकमा नेकपाका सांसद प्रस्तावक इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताब पेश गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव आईतवारको प्रदेश सभा बैठकमा पेश भएको हो । मुख्यमन्त्री राईविरुद्ध नेकपाकै ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

आईतबार अविश्वास प्रस्ताव पेश भएको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु र मुख्यमन्त्री निकट सांसदहरु भने अनुपस्थित रहेका थिए । अविश्वास प्रस्ताव खारेज गर्नुपर्ने वा आफूले कार्वाही गरेका सांसदहरुलाई प्रदेशसभामा प्रवेश गर्न रोक्नुपर्ने माग गर्दै सत्तापक्षले गत माघ २५ गतेको बैठक अबरुद्ध गरेको थियो ।

मुख्यमन्त्री राईले सभामुख प्रदिपकुमार भण्डारीलाई आर्इतबारको बैठक पनि रोक्न दबाब दिनुभएको थियो । बैठकअघि मुख्यमन्त्री राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा नराख्न र बैठक स्थगित गर्न माग गर्नुभएको थियो । तर, सभामुख प्रदीपकुमार भण्डारीले ढिलो गरि भएपनि बैठक राखे निर्णय गरेपछि अविश्वास प्रस्ताव प्रक्रियामा गएको हो ।

सत्तापक्षले बहिष्कार गरेको बैठकमा अविश्वासको प्रस्ताव पेश भएसँगै सभामुख भण्डारीले अर्को बैठक फागुन २० गते बस्नेगरी तोक्नुभएको छ । मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका बारेमा फागुन २० गते नै निर्णय गर्ने तयारी रहेको छ । अविश्वास प्रस्ताव दर्ता भएसँगै आफुले प्रदेश सभालाई विघटन गर्ने मुख्य मन्त्री राईले चेतावनी दिनुभएको छ ।