नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ग्याल्पो ल्होसारको अबसरमा राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मको शुभकामना

ओखलढुङ्गान्युज, माघ २९, २०७७ काठमाडौं हिमाली आदिवासी शेर्पा समुदायको नयाँ बर्ष च्या मो लाङ ल्हो (गोरु बर्ष) २१४८ औं ग्याल्वो ल्होसारको अबसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ । सरकारले चैत १ गतेलाई ग्याल्पो ल्होसार भनेर उल्लेख गरेपनि तिथी गलत भएको भन्दै माघ ३० मै उक्त समुदायले ल्होसार मनाउने भएपछि माघ ३० लाई सरकारले सार्वजनिक विदा दिएको हो ।

ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि प्रसाद सापकोटा लगायतले शुभकामना सन्देश जारी गरेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ल्होसारको अवसरमा जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल बहुल धार्मिक, बहुल सांस्कृतिक, जातीय विविधतायुक्त देश हो । यी सबै समुदायको आ–आफ्नै धार्मिक र सांस्कृतिक महत्व बोकेको मौलिक चाडपर्वहरु छन् । सबै जातजातिको सम्मानजनक उपस्थिती र पहुँच स्थापना गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा हामी छौं । वहुरंगी संस्कृतिका धनी नेपाल यीनै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो समृद्धी हात लाग्ने कुरामा दुइमत छैन ।’

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘हिमाल आरोहण तथा पर्यटनको माध्यमबाट विश्वलाई नेपाल चिनाउने पहिलो शक्ति शेर्पाहरु नै हुन् । हिमालले नेपाललाई जति सुन्दर बनाएका छन्, हिमाली भेगमा वसोवास गर्ने शेर्पा समुदाय लगायतका आदिवासी जनजातिका भेषभुषा, धर्म संस्कृति, रहनसहनले त्यो भन्दा बढी सुन्दर बनाएको छ । आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने ग्याल्बो ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पुरयाएको छ ।’

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले ग्याल्पो ल्होसार जस्ता पर्वले नयाँ उमंग र उत्साह साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनहरुमा समेत निरन्तरताको लागि शुभकामना व्यक्त गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघले ग्याल्वो ल्होसारको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै ‘आदिवासी जनजातिहरुको भूमि, सभ्यता, इतिहास, पहिचान, संस्कृति र अस्तित्वसँग जोडिएको राष्ट्रिय चाडपर्वहरुमा सरकारले अपरिपक्क रुपमा मन लाग्दा विदा दिने नलाग्दा खारेज गर्ने गरेको भन्दै आपती जनाएका छन् ।’

यसैवीच, नेपाल शेर्पा संघले एक शुभकामना सन्देश जारी गर्दै ल्होसारले पहिचान र अधिकार स्थापित गर्ने मार्गको रुपमा लिनुपर्नेमा जोड दिएका छन् । संघका अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा हस्ताक्षरित शुभकामना सन्देशमा भनिएको छ, ‘सरकारले हिमाली आदिवासी शेर्पाहरुको मूख्य पर्वको तिथी विगारेर अन्याय गरेको छ । भोट चन्द्रपात्रो अनुसार ल्होसार माघ ३० मै हो । तर सरकारले चैत १ गते राखेको छ । यसले अन्यौल सिर्जना गरेको छ । उप्रान्त पञ्चांग निर्णायक समितिमा बौद्धमार्गी शेर्पा समुदायको समेत प्रतिनिधित्व गराउँदै पात्रो निर्माणमा सचेत बनोस् । यो वर्ष माघ ३० मै तामाङ, ह्योल्मो समुदायको सोनाम ल्होच्छार समेत परेको  छ ।