नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

प्रचण्ड–माधव समूहको काठमाण्डौंमा शक्ति प्रदर्शन

ओखलढुङ्गान्युज, माघ १०, २०७७ काठमाण्डौं प्रचण्ड–माधव समूहको नेकपाले काठमाण्डौंमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरुद्ध उक्त समूहले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गरेको हो ।

शक्ति प्रदर्शन कार्यक्रममा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति कटु आलोचना गरेका थिए । प्रदर्शनमा उल्लेख मात्रामा सहभागिता देखेपछि नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले जनआन्दोलनको झल्को आएको बताए । सभामा अध्यक्ष प्रचण्डले आफुहरुले विश्वास गरेर ओलीलाई सहि बाटोमा ल्याउन नसकेको बताएका थिए । त्यस्तै अर्का अध्यक्ष माधव नेपालले ओलीमा हिटलर प्रबृत्ति हावी भएको भन्दै उनलाई जेलमा नराखी माफि दिन नसकिने बताएका थिए ।

तस्विर ः सामाजिक सञ्जाल

सम्बोधनका क्रममा नेताहरुले दोस्रो जनआन्दोलनपछि काठमाण्डौंमा यति विशाल प्रदर्शन भएको बताएका छन् । १२–१४ वर्षपछि जनसागर ओर्लिएको भन्दै नेताहरुले प्रतिगमनविरुद्ध जनता जागिसकेका छन् भन्ने प्रमाणित भएको बताए । शुक्रबार काठमाण्डौंमा भएको प्रदर्शन कास्टिङ मात्र भएको भन्दै भने फिल्म सुरु हुन अझै बाँकी नै रहेको पनि बताए ।

सभा सुरुहुनभन्दा अघि शहरका विभिन्न स्थानबाट जुलुस निस्किएको थियो । सबै जुलुस रत्नपार्कमा पुग्ने र शीर्ष नेताहरुले नेतृत्व गरेर पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डपमा पुग्ने तय भएको थियो । तर एकपछि अर्को जुलुस आउने क्रममा रत्नपार्कमा जामको अवस्था बन्यो र एकीकृत जुलुस निस्कन सकेन ।