नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

पीएम कप क्रिकेटमा पुलिस र एपीएफको लगातार दोस्रो जित

ओखलढुङ्गान्युज, माघ ८, २०७७ । काठमाण्डौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । साविक विजेता पुलिसले बिहीबार लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

लुम्बिनीको भने यो पहिलो हार हो । लुम्बिनीले पहिलो खेलमा प्रदेश २ लाई पराजित गरेको थियो । पुलिस भने आफ्नो पहिलो खेलमै बागमतीसँग पराजित भएको थियो । आफ्नो खेलमा सुधार गर्दै पुलिसले प्रयिोगितामा दोश्रो जित निकालेको हो । पुलिसका लागि सुनिल धमलाले १ सय ४५ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा १ सय ४ रन बनाए । धमलाले राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गरेको यो पहिलो पटक हो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । ३ सय ११ रनको विशाल लक्ष्य पछ्याएको लुम्बिनीले ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ३६ रनमात्रै बनाउदै हारलाई स्विकार गर्यो ।

त्यस्तै समूह ए अन्तर्गत बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । प्रतियोगितामा  एपीएफको यो लगातार दोस्रो जित हो । प्रतियोगितामा तेस्रो हार बेहोरेको गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले चार खेल खेल्दा एक खेलमा मात्र जित हात पारेको थियो ।

प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ४६ ओभर खेल्दै १ सय ६ रनमा अलआउट भएको थियो । गण्डकीले दिएको १ सय ७ रनको लक्ष्य एपीएफले १७ दशमलब ४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।