नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा निर्वाचन लक्षित मतदाता अध्याबधिकको काम सुरु

ओखलढुङ्गान्युज, माघ , २०७७ ओखलढुङ्गा जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ । आगामी बैशाख १७ गते र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको पुर्वतयारी स्वरुप निर्वाचन कार्यालय ओखलढुङ्गाले जिल्लाका ८ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको हो ।

निर्वाचन आयोगले गत पुस १६ गतेदेखि नै आगामी फागुन २१ गतेसम्मका लागि तय गरेको निर्वाचन सम्वन्धी कार्यक्रम कार्यान्वयन तालिका भित्र रहेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेम प्रसाद न्यौपानेले जानकारी दिनुभयो । मंगलबार जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गामा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा न्यौपानेले जिल्लाका सबै स्थानीय तहमा आगामी माघ १५ देखी २१ गते सम्म र जिल्लामा माघ २६ सम्म मतदाता अध्याबधिकको कार्यक्रम रहेको जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार जिल्लामा स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने छन् । सो कार्यक्रम मार्फत मतदाताले मतदाता नामावलीमा भएको आफ्नो नाम विवरण हेर्न एबं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटी हटाउने अबसर पाउनेछन् । अध्याबधिक कार्यक्रममा मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म संकलित मतदाता नामावलीलाई वैधानिकता प्रदानका कार्य गरिनेछ ।

मतदाता नामावलीमा भएको त्रुटी सच्याउने, नाम हटाउने वा दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि जिल्ला निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने, त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहोरो परीक्षण गरी दोहोरिएको डाटा हटाउने र आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराएर सोको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिने जिल्ला निर्वाचन अधिकारी न्यौपानेले जानकारी दिनुभयो । 

आगामी बैसाख १७ गते र २७ गते तोकिएको निर्वाचनमा गत पुस ५ गते १८ वर्ष उमेर पूरा भएका मतदाताले मात्र मतदानमा सहभागी हुन पाउने छन् । कार्यालयले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउनका लागि राजनैतिक दल, गैरसरकारी संघ÷संस्था, नागरिक समाज, सञ्चारकर्मी सवैलाई प्रचार–प्रसारका लागि सहयोग गर्न आग्रह गरेको छ ।