नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

पिएम कप राष्ट्रिय पुरुष क्रिकेट ः मंगलबारको खेलमा कर्णाली र लुम्बीनी विजयी

ओखलढुङ्गान्युज, माघ , २०७७ काठमाण्डौं मंगलबार भएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश र लुम्बीनी प्रदेश विजयी बनेका छन् । मंगलबार भएको खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले हराउदै कर्णाली प्रदेशले जित हासिल गरेको हो ।

समूह ए अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले गण्डकीलाई ५ विकेटले पराजित गर्दै सानदार जित हासिल गरेको हो । प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको गण्डकीले ४२ दशमलब ३ ओभरमा अलआउट हुँदै २०४ रन बनाएको थियो । २ सय ५ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेको कर्णालीले उक्त लक्ष्यलाई ३६ दशमलब ५ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।

समूह ए मा पहिलो जित हात पारेको कर्णालीले २ अंक जोडेको छ । उता गण्डकीको भने यो दोश्रो हार हो । गण्डकीले ३ खेलबाट २ अंक जोडेको छ ।

त्यस्तै कीर्तिपुरस्थित टीयू मैदानमा मंगलबार भएको समूह बी को खेलमा लुम्बिनीले प्रदेश २ लाई ७७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।

लुम्बीनीले दिएको २ सय ५८ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले ४२ दशमलब ४ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ८० रन मात्र बनाएको थियो । योसँगै लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।