नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सोलुखुम्बुमा हाइड्रोपावरको सामान बोकेको ट्रिपर दुर्घटना, तीन जनाको मृत्यु

ओखलढुङ्गान्युज, माघ , २०७७ सोलुखुम्बु आईतवार राति टिपर दुर्घटना हुँदा सोलुखुम्बुमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि नियमित सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटनामा परेको हो । टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि एकजना गम्भिर घाइते छन् ।

दुर्घटनामा धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय टिपर चालक कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

टिपर दुर्घटनामा मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नं. ४ का २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । सडकबाट लगभग सय मिटर तल भेटिएको टिपरको अगाडिको भागमा अड्किरहेको अवस्थामा मगरको उद्धार गरिएको प्रहरीले जनाएको छ । चालकबाहेक मृत्यु भएका दुई र घाइते भएका एक जना हाइड्रोपावरका कामदार भएको प्रहरीले जनाएको छ ।

निर्माणाधिन ८६ मेगावाटको सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन जाली र रड लिएर गएको टिपर आइतबार राति ११ बजेतिर दुर्घटनामा परेको हो ।