नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफको विजयी सुरुवात

ओखलढुङ्गान्युज, माघ ३, २०७७ । काठमाण्डौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा प्रदेश नं. १ लाई १ सय ३५ रनले हराउँदै एपीएफले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

एपीएफले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश नं. १ ले ४२ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्रै बनायो । यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको मौका पाएको एपीएफले ४८ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४३ रन बनाएको थियो ।

प्रदेश १ लाई सस्तैमा समेट्नेक्रममा एपीएफका अभिनाश बोहराले घातक बलिङ गरे । उनले १० ओभरमा ६ मेडन राख्दै १८ रन खर्चेर पाँच विकेट लिए । प्रदेश १ का ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अब एपीएफले आफ्नो दोस्रो खेल माघ ८ गते गण्डकीसँग मुलपानीमा खेल्नेछ । त्यस्तै प्रदेश नं. १ ले पनि ५ गते सोमबार मुलपानीमै गण्डकीसँग प्रतिस्पर्धा गर्नेछ ।