नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

जिससले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन प्रति चिशंखुगढीको कडा आपत्ती

ओखलढुङ्गान्युज, पुष २६, २०७७ ओखलढुङ्गा केहिदिन अगाडी जिल्ला जिल्ला समन्वय समिति ओखलढुङ्गाले गरेको योजना अनुगमन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम प्रति चिशंखुगढी गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला समन्वय समितिले जिल्लाका विभिन्न स्थानहरुमा गएर गरेको अनुगमनका क्रममा चिशंखुगढी गाउँपालिकाको पनि एउटा योजनाको नाम जोडिएपछि गाउँपालिकाले विज्ञप्ती जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

जिल्लाको विभिन्न स्थानीय तहमा सञ्चालन भएका छ ओटा योजनाको अनुगमन पश्चात गत पुष १७ गते जिल्ला समन्वय समिति प्रमुख जय बहादुर श्रेष्ठले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा आफुहरुले गरेको अनुगमनका क्रममा चारओटै योजनामा बढि भुक्तानी गरेर अनियमितता गरेको पाईएको जानकारी दिएका थिए ।

जसअनुसार चिशंखुगढी गाउँपालिकाका वडा नं. २ मा निर्माण भएको वडा सभाहल निर्माणको लागि कूल लागत २४ लाख ९९ हजार ४ सय १५ रुपैया ७६ पैसा रहेकोमा निर्माण कम्पनी सिजनल ईञ्जिनियरिङ एण्ड कन्ट्रक्सन कन्सलटेन्सी प्रा.लि. बुढानिलकण्ठलाई २३ लाख ५५ हजार ६ सय ६२ रुपैया ९१ पैसा गाउँपालिकाले भुक्तानी गरेको उल्लेख छ । जिल्ला समन्वय समितिले अनुगमनका क्रममा प्राबिधिक मूल्यांकन गर्दा निर्माण कम्पनीले १५ लाख ४० हजार ७ सय २ रुपैया २२ पैसा मात्र पाउनु पर्नेमा गाउँपालिकाले ८ लाख १४  हजार ९ सय ६० रुपैया ६९ पैसा बढि भुक्तानी गरेको देखिएको जिससले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

तर चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘चिशंखुगढी गाउँपालिकाले छैंठौं गाउँसभावाट स्वीकृत गराई रु २५ लाख विनियोजन भएकोमा विधि संगत ढंगले सिजनल ईञ्जिनियरिङ एण्ड कन्ट्रक्सन कन्सलटेन्सी प्रा.लि. बुढानिलकण्ठलाई भ्याट बाहेक २० लाख ८३ हजार १ सय ४० रुपैया ६ पैसामा ठेक्का सम्झौता गरेकोमा प्राबिधिक मूल्यांकन र प्रचलित कानून बमोजिम भेरिएशन सहित अन्तिम मूल्यांकन रु २२ लाख ११ हजार ८ सय ९० रुपैया ६ पैसा भुक्तानी गरेको देखिन्छ । त्यसैले गत पुष १७ थते जिससले उल्लेख गरेको तथ्यमा कुनैपनि सत्यता नभएको र वास्तविकता के भएको हो भनेर बुझ्नका लागि गाउँपालिकाका कुनैपनि कर्मचारीहरुसँग समन्वय नगरी एकलौटी मनगणन्ते एवम् हचुवाको भरमा गरिएको टिप्पणी प्रति ध्यानाकर्षण गराउदै जिल्ला समन्वय समिति ओखलढुङ्गाको यो प्रवृत्ती र रवैया प्रति खेद व्यक्त गर्न चाहन्छौं । ’

गाउँपालिकाले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘आफ्नै शरिरमा भैंसी हिडेको नदेख्ने अरुको शरिरमा जुम्रा छ कि भनेर नियाल्ने रबैयाको खेद व्यक्त गर्दै चिशंखुगढी गाउँपालिकाले सम्पादन गरेको कार्य र जिल्ला समन्वय समितिले सम्पादन गरेका कार्यको कानूनी एवम् प्रकृया, गुणस्तर लगायतका विषयमा चेकजाँच गर्न चुनौत िदिदै सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छौं । ’

आफ्नो योजनाको बारेमा चिशंखुगढी गाउँपालिकाले कडा आपत्ती सहित विज्ञप्ती जारी गरेपनि जिल्ला समन्वय समिति ओखलढुंगाले अनुगमन गरि प्रतिवेदन सार्वजनिक गरेको अरु पाँचओटा योजना एवम् अनियमितता बारे कसैले बोलेका छैनन् ।

हेर्नुस गाउँपालिकाको विज्ञप्ती ः