नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

आज प्रधानमन्त्री ओली समूह नेकपाको ओखलढुंगामा शक्ति प्रदर्शन

ओखलढुंगान्युज, पुष १९, २०७७ । ओखलढुंगा । आइतवार (आज) १९ गते नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओली समूहले ओखलढुंगामा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री ओलीको कदमको विरुद्धमा प्रचण्ड माधव समूहले देशव्यापी विरोध र प्रदर्शन गर्दै गर्दा ओली समूहले भने प्रधानमन्त्री ओलीको कदमको समर्थनमा आइतबार ओखलढुंगामा मोटरसाईकल र्याली र जुलुस सहित शक्ति प्रदर्शन प्रदर्शन गर्न लागेको हो ।

ओली समूहले गाउँगाउवाट नागरिकलाई र्यालीमा सहभागी हुन ल्याउनका लागि गाडीको समेत व्यबस्था गरेको जनाएको छ । र्याली पश्चात आइतवार नै जिल्ला समन्वय समितिको सभाहलमा प्रशिक्षण सञ्चालन गर्ने ओली समुह नेकपा ओखलढुंगाले तयारी गरेको छ । ओली समुहले आइतवार जिल्ला सदरमुकाममा ५ सय भन्दा बढि कार्यकर्ता उतार्ने जनाएको छ ।

आईतवार नै प्रशिक्षण कार्यक्रममा नेकपा ओली समूहको जिल्ला पदाधिकारीको समेत टुंगो लगाउने तयारी छ । पदाधिकारी चयन गर्ने सम्बन्धमा भने ओखलढुंगामा सकस हुने देखिएको छ । एकताको बेला पूर्व सचिव रहेका मोहन कुमार श्रेष्ठ केन्द्रिय सदस्य भएपछि जिल्ला अध्यक्ष र सचिवमा कसलाई चयन गर्ने टुंगो लागेको छैन । अहिलेसम्म पदाधिकारी टुंगो नलागेपनि जिल्ला अध्यक्षका लगि सिताराम गुरुङ र पुराना नेता केदारबाबु वस्नेतले दावी गरेपछि पदाधिकारी चयन गर्न सकस भएको हो ।

अध्यक्ष पदमा सहमती जुटेमा आइतवार नै कमिटि घोषणा गर्ने तयारी छ । सचिवमा भने चम्पादेवी गाउँपालिकाका तिर्थ सुवेदीलाई ल्याउने तयारी ओली समुहको छ ।