नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

प्रतिगमनको विरोध गर्दै एकताको पक्षमा उभिन नेकपा ओखलढुङ्गाको अपिल

ओखलढुङ्गान्युज, पुष १५, २०७७ । ओखलढुङ्गा । प्रतिगमनको विरोध गर्दै पार्टी एकताको पक्षमा उभिन आम कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी नेकपा ओखलढुङ्गाले अपिल गरेको छ । नेकपा ओखलढुङ्गाका अध्यक्ष र ईञ्चार्जले संयुक्त रुपमा प्रधानमन्त्री ओलीको प्रतिगमनकारी निर्णयको विपक्षमा उभिदै सुदृढ एकताको पक्षमा एकजुट हुन विज्ञप्ती मार्फत अपिल गरेका हुन् ।

बुधबार नेकपा ओखलढुङ्गाले जारी गरेको अपिलमा नेकपाका जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवार र जिल्ला अध्यक्ष मोहनकुमार खड्काले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमको विरोध गर्दै सुदृढ एकताको पक्षमा उभिन विज्ञप्ती मार्फत आग्रह गरिएको छ । दुईपार्टी बिचको एकताको प्रक्रिया पुरा भईनसक्दै प्रधानमन्त्रीको कमदले एकताबद्ध हुदै गरेको नेकपा स्थिरताको भावनामा गम्भीर चोट पुगेको जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘ प्रधानमन्त्री ओलीको यो कदमले कम्युनिष्ट पार्टी प्रतिको अटुट आस्था र विश्वासमा प्रश्न उठाएको छ ।  शहिदको रगतप्रति गद्दारी भएको हामीले ठहर गरेका छौं । स्थिरता, समृद्धि र सुशासनका निम्ती नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टीलाई गरेको माया, विश्वास र साथलाई धर्मराउने गरि गरिएको प्रतिनिधि सभा विघटनको घोर निन्दा र भत्र्सना गर्दछौं ।’

नेकपा पार्टी एकताको पक्षमा रहेका लाखौंलाख पार्टी सदस्यलाई प्रधानमन्त्री ओलीको यो कदमले मर्माहित बनाएको भन्दै प्रधानमन्त्रीको असंवैधानिक, अराजनीतिक र प्रतिगामी कदमको पक्षमा केही झुण्डहरुले प्रलोभनमा पारी भ्रम छर्ने गरेको भन्दै एकता विरोधी गतिविधी गर्नेको पहिचान गरेर प्रतिवाद गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरिएको छ ।

त्यस्तै नेकपाको भातृ संगठन युवासंघ नेपालले पनि बुधबार नै एक विज्ञप्ती जारि गर्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको कदमको विरोध गर्दै पार्टी एकताको पक्षमा अडिग भएर लाग्न सबै युवालाई आग्रह गरेको छ ।