नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

तमुल्होसार तथा उधौलीको अबसरमा राष्ट्रप्रमुखहरुको शुभकामना

ओखलढुङ्गान्युज, पुष १५, २०७७ काठमाण्डौं आज मंशिरे अर्थात धान्य पूर्णिमा । आजकै दिन गुरुङ समुदायले तमु ल्होसार र किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । त्यस्तै नेवारी समुदायहरुले भने योमरी पूर्णिमाको रुपमा आजको दिनलाई मनाउदै छन् । यस  अवसरमा सम्पूर्ण धर्मावलम्बीहरुलाई राष्ट्रपति, उपराष्ट्रपति लगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्णिमाको दिन परेको विभिन्न चाडको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । यी पर्वले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने राष्ट्रपति भण्डारीको विश्वास छ ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले शुभकामना व्यक्त गर्दै अहिले जनतामा नैराश्यता आएकोले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश जारी गर्दै खुसी नेपाली र समृद्ध नेपालको कामना गर्नुभएको छ । त्यसैगरि पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि शुभकामना व्यक्त गर्दै सबै समुदाय एक भएर अधिकार र संविधानको रक्षा गर्नु पर्ने बताउनुभएको छ ।