नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

प्रदेश नं. १ मा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

ओखलढुंगान्युज, पुष १२, २०७७ । विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका आन्तरिक किचलोका कारण संघ सरकारको संसद विघटन भएसँगै त्यसको असर प्रदेश तहमा समेत देखिएको छ । असर स्वरुप प्रदेश नं. १ मा पनि आईतबार मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थालिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले शनिवार साँझ पदमुक्त गरेलगत्तै उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी नेकपा प्रचण्ड–नेपाल समूहले गरेको हो । मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–नेपाल समूहले आइतबार प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराउने भएको मुख्यमन्त्री राईद्वारा पदमुक्त गरिएका आङम्बोले बताउनुभयो। आङम्बोका अनुसार प्रदेश सभामा मुख्यमन्त्री राईविरुद्ध बहुसंख्यक सांसदहरूको हस्ताक्षर सहित अविश्वास प्रस्ताव दर्ता हुनेछ।

नेकपा ओली समूह प्रदेश १ मा अल्पमतमा रहेको छ । नेकपाकै बहुमत सांसदले राईविरुद्ध अविश्वास प्रस्ताव गर्ने भएपछि मुख्यमन्त्री राईको सरकार धरापमा परेको छ । अविश्वास प्रस्ताव दर्ताको चर्चा भएसँगै प्रदेश १ मा नयाँ सरकार गठनबारे पनि चर्चा सुरू हुनेछ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै स्पष्ट दुई खेमामा विभाजित भएका नेकपालाई प्रदेश १ मा सरकार बनाउन नेपाली कांग्रेसको समर्थन अनिवार्यजस्तै देखिएको छ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा (ओली समूह)का हुन् । नेकपाको संसदीय दलमा मुख्यमन्त्री राई अल्पमतमा छन् । मुख्यमन्त्री राईले २६ मत पाएर तत्कालीन नेकपा एमालेको संसदीय दलको नेता भएका थिए । उनले भीम आचार्यलाई २ मतले हराउँदै मुख्यमन्त्री बनेका थिए । आचार्य प्रचण्ड नेपाल समूहका हुन् । प्रदेशसभामा पूर्वएमालेतर्फका ५१ जना सांसद छन् भने पूर्वमाओवादीतर्फका १६ जना छन् ।

प्रदेशसभा ९३ जनाको छ। सभामुख र उपसभामुख पनि नेकपाकै भएकोले ९१ जना सांसदको बहुमत सिद्ध गर्न ४७ जना सांसद आवश्यक पर्छ । ९३ मध्ये नेकपा एक्लैको ६७, काङ्ग्रेसको २१ र साना दलका पाँच सांसद छन् । पार्टी विभाजनपछि ६७ मध्ये ओली पक्षमा २० सांसद खुलेका छन्। प्रचण्ड–नेपाल पक्षले आफूहरूसँग ४७ सांसद रहेको दाबी गरेका छन् ।