नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

परीक्षा छुटेका कक्षा १२ का विद्यार्थीलाई मौका परीक्षा

ओखलढुङ्गान्युज, पुष ११, २०७७ काठमाण्डौं कोरोका कारण परीक्षा दिन छुटेका कक्षा १२ का विद्यार्थीहरुका लागि मौका परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका विद्यार्थीलाई लक्षित गरि फेरि परीक्षा दिन पाउने गरी तालिका सार्वजनिक गरेको हो ।

कक्षा १२ का विद्यार्थीहरुको मौका परीक्षा पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै सञ्चालन हुने बोर्डले जनाएको छ । गत मंसिर ९ गतेदेखि १६ गतेसम्म कक्षा १२ को परीक्षा देशव्यापी सञ्चालन भएको थियो ।

परीक्षा सञ्चालन भएपनि कोरोना महामारीका कारण कतिपय विद्यार्थी परीक्षामा सामेल हुन सकेका थिएनन् । सबै वा केही विषयको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा सञ्चालन हुने परीक्षामा सहभागी हुन परीक्षा बोर्डले आग्रह गरेको छ ।

आ–आफ्नो मातहतमा रहेका विद्यालयहरुलाई जानकारी गराउन बोर्डले प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुलाई निर्देशन दिएको छ ।