नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

धर्म र संस्कृति माथिको प्रहार विरुद्ध शशक्त नाटक ‘थिरिथिरि’

ओखलढुङ्गान्युज, पुष ९,२०७७ । ओखलढुङ्गा । ‘अँ नि म, विजोरी ढुकुर जस्तै, जल शिकारी, थल शिकारी, वन शिकारी, घर शिकारीबाट भाग्दै भाग्दै, लुक्दै लुक्दै, यहाँसम्म आईपुगेको छु ।…’ नेपथ्यबाट कविता गुन्जिन्छ । मधुरो प्रकाशमा भरतमान विस्तारै अघि बढ्छन् ।

दाहिने हातको चोर औँला र माझी औँलाको बिचमा एउटा लठ्ठी उभ्याऊदै अघि बढ्छन् । उनलाई चारैतिरबाट धागोको जालोले बेरिएको हुन्छ । ती धागोबाट अन्य पात्रले भरतमानलाई तानिरहेको दृश्य देखिन्छ ।

‘थिरिथिरि’ नाटकको शुरु यही दृश्यबाट हुन्छ । यलम्बर थिएटरले मानेभन्ज्याङ गाउँपालिकामा विगत एक सातादेखि मञ्चन गरिरहेको नाटक हो ‘थिरिथिरि’ ।

नाटकको मूलपात्र हुन् भरतमान । एक घण्टा १० मिनेटको नाटक भरतमानकै कथामा केन्द्रित छ । शुरुमै भरतमानको श्रीमतीको मृत्यु हुन्छ । उनको मृत शव संस्कार्ने विषयमा दुई छोराहरु बिच विवाद हुन्छ । दुवै छोरा बुहारीले फरक फरक धर्म अंगालेका हुन्छन् । भरतमानले पुरानै मुन्दुमी संस्कारमा श्रीमतीको अन्त्येष्टि गर्छन् ।

चरम गरिबीका कारण भरतमानले श्रीमतीको काज किरिया गर्न सक्दैनन् । श्रीमतीको आत्माले गाउँलेलाई दुःख दिन्छ । गाउँलेले भरतमानलाई श्रीमतीको काज किरिया नगरे चिहान खनेर जलाई दिने धम्की दिन्छन् । दुवै छोरालाई आमाको किरिया गर्न अनुरोध गर्छन् । तर छोराहरुले नयाँ धर्म अनुसार भए गर्ने नत्र नगर्ने शर्त राख्छन् ।

अन्त्यमा श्रीमतीको काज किरिया नगरि भरतमानको पनि मृत्यु हुन्छ । छोराहरुले अन्तिम सम्म धर्मकै कारण बुवाको शव छुन मान्दैनन् । गाउँलेले छुन दिँदैनन् । नाटकको कथासार यत्ति हो । नाटकभित्र सुखान्त र दुखान्त दुवै किसिमका दृश्यले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ ।

किरात समुदायमा पर्ने वाम्बुले राईको खाउमो सिलि देखाइएको छ । तीन चुल्होको पूजा गर्ने मुन्दुमी परम्परा र धामी राख्ने चलनलाई जिवन्त रुपमा प्रस्तुत गरिएको छ । भरतमान बिरामी भएर धामी राख्ने क्रममा उनकी श्रीमतिको आत्मासँग गरिएको संवाद निकै कारुणिक र मन छुने छ ।

धामीमा उनको श्रीमतिको आत्मा उत्रिएपछि बोल्न थाल्छन् । भरतमानलाई वैंशको बेला गाएको गीत गाईदेउन भन्ने अनुरोध श्रीमतिको आत्माले गर्छिन् । त्यसपछि भरतमानले आँखाबाट आँशु झार्दै वैंशमा श्रीमतीसँग गाएको गीत सुनाउँदा दर्शकहरु स्तब्ध हुन बाध्य हुन्छन् । भरतमानको भूमिकामा मोहन राईले शसक्त अभिनय गरेका छन् । धामीको भूमिका अनिल सुब्बाले गरेका छन् ।

उटपट्याङ युवाको भूमिकामा खोटाङका सन्जिव राईको अभिनयले न्याय दिएको छ । नाटकको अन्त्यमा शुरुवातकै दृश्य दोहो¥याइएको छ । भरतमानलाई जालोमा पारेर तान्ने पात्रहरु जल शिकारी, थल शिकारी, घर शिकारी भएको सांकेतिक विम्ब हो । आफूले जन्माएको र थिरिथिरि गर्दै हिँड्न सिकाएका छोराहरुले बुढेसकालमा धर्मलाई कारण देखाएर वेवास्ता गरेको देखाइएको छ ।

‘यसमा मैले थिरिथिरि चाहीँ जीवनलाई ब्यालेन्स गर्ने संकेतको रुपमा प्रयोग गरेको हुँ ।’ नाटकका लेखक तथा निर्देशक कविराज राईले भने, ‘मूल सन्देश चाहीँ किराती संस्कृति, धर्ममाथी पछिल्ला समय विभिन्न नयाँ धर्मको नाममा भएका प्रहार र बुढेसकालमा बुवाआमालाई नहेर्ने छोराछोरीका विरुद्ध व्यंग्य गर्न खोजेको हुँ ।’

नाटकमा पात्र संख्या अलि धेरै भएको महशुस हुन्छ । प्रकाश र ध्वनीको संयोजन राम्रै छ । मानेभन्ज्याङ गाउँपालिकाको आर्थिक सहयोगमा मञ्चन गरिएको नाटकलाई राष्ट्रियस्तरका मञ्चमा मञ्चन गर्ने तयारी यलम्बर थिएटरको छ । नाट्यक्षेत्रमा संघर्षरत कविराज राईले महाभोज, जोखाना लगायतका थुप्रै नाटकमा अभिनय गरिसकेका छन् । कालोजोगी उनले निर्देशन गरेको लोकप्रिय नाटक हो ।

कुम्भराज राईवाट (पत्रकार राई कान्तिपुर दैनिकका उपसम्पादक समेत हुनुहुन्छ)