मकवानपुरको राक्सिराङमा मानवअधिकार समन्वय समिति गठन
ओखलढुङ्गान्युज, मंशिर ३०, २०७७ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा मानवअधिकार समन्वय समिति गठन भएको छ । राष्ट्रिय मानवअधिकार आयोग बाग्मती प्रदेशको आयोजना तथा राक्सिराङ गाउँपालिकाको संयोजनमा भएको मानवअधिकार सम्बन्धी एकदिने भेलाले पालिका स्तरीय मानवअधिकार कार्ययोजना कार्यान्वयनको लागि स्थानीय तह समन्वय समिति गठन गरेको हो ।
भेलामा उपस्थित हुनुभएका सहसचिव यज्ञप्रसाद अधिकारी, जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष जगत बराम लगायतले मानव अधिकारका सवालमा प्रस्तुतिकरण गर्नुभएको थियो । पाँचवर्षे मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा राक्सिराङ गाउँपालिका बाग्मती प्रदेशमा पहिलो स्थानीय तह भएको आयोगका निर्देशक अधिकारीले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको संयोजकत्वमा उक्त समन्वय समिति गठन भएको हो । समितिमा गाउँपालिका अध्यक्ष सहित सबै वडाका वडाअध्यक्ष, नागरिक समाजका प्रतिनिधि सदस्य रहने र गाउँपालिकाका प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरि समिति बनाइएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
उक्त छलफल कार्यक्रममा चेपाङ तथा तामाङ समुदायको जमिन अधिकार, बालबिबाह, शिक्षा, पोषण, खाद्यान्न, बाटोघाटो लगायतका विषयमा सहभागीहरुले जिज्ञासा राखेका थिए । पालिका स्तरमा गठित समन्वय समितिले आफ्नो कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।
अति सिमान्तकृत समुदायको हक हित संरक्षणको लागि मानव अधिकार विषयक उक्त कार्यक्रम राष्ट्रिय जनवकालत मंच नेपाल (नाफान) को सहकार्यमा सम्पन्न भएको हो । भेलामा गाउँपालिका क्षेत्रका जातजाति, स्थानीय संघसंस्था, मानव अधिकारकर्मी आदिको सहभागिता रहेको थियो ।