नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

निवन्ध लेखन प्रतियोगितामा राज्यलक्ष्मी माविकी निरुता प्रथम

ओखलढुङ्गान्युज, मंसिर १७, २०७७ । ओखलढुङ्गा । देशव्यापी रुपमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भैरहेको छ । यहि अभियानलाई लक्षित गरि ओखलढुङ्गामा नगरपालिकाका मावि स्तरीय लैङ्गिक हिंसा नियन्त्रणमा मेरो भूमिका विषयक निवन्ध लेखन प्रतियोगीताको आयोजना गरिएको छ । निवन्ध लेखन प्रतियोगितामा श्री राज्यलक्ष्मी मावि सानिटार बर्णालुकी छात्रा निरुता दाहाल प्रथम भएकी छिन् ।

विजेता भएकी छात्रा दाहालले नगद रु ३ हजार प्राप्त गरेकी छिन् । प्रतियोगितामा सगरमाथा जनता माद्यमिक विद्यालय ओखलढुङ्गाका सुवास धमला द्वितीय, पुण्यमाता मावि वेतीनीका समिर धमला तृतिय भएका छन् । त्यस्तै राज्यलक्ष्मी मावि सानिटार कै छात्र रोशनबाबु दाहालले प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गरेका छन् । विजेताहरुले क्रमशः २ हजार, १ हजार ५ सय र सान्त्वना हुनेले रु १ हजार नगद प्राप्त गरेका छन् । विजेता छात्रछात्राहरुलाई कार्यक्रममा उपस्थिती हुनुभएका अतिथीहरुले नगद पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा पुरस्कार वितरण गर्दै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले प्रत्येक व्यक्तिमा लैङ्गिक हिंसा सम्बन्धिको बुझाईमा विविधता भएको भन्दै त्यसलाई एकरुपता बनाउन अझै चेतना मूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । समाजमा जकडिएर रहेको कुरीति कुसंस्कार र लैङ्गिक हिंसाका घटनालाई समेत कम गराउनका लागि चेतना विकास गर्ने भरपर्दो माध्यम विद्यालय र विद्यार्थी नै हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । चेतनामूलक कार्यक्रममा बढावा दिन र विद्यार्थीहरु मार्फत प्रचारप्रसारका लागि समेत विद्यालयले सञ्चालन गर्ने अतिरिक्त कृयाकलापमा समेत यस्ता विषयलाई समेट्नु पर्नेमा नगरप्रमुख श्रेष्ठले जोड दिनुभयो ।

विजेताहरुलाई प्रोत्साहन स्वरुप पुरस्कारको वितरण गरिएको सिद्धिचरण नगरपालिकाका महिला तथा बालबालिका कार्यालयका शाखा अधिकृत सरिता तामाङले जानकारी दिनुभयो । आगामी दिनहरुमा पनि बालबालिकाहरुको लेखन क्षमतालाई बृद्धि गराउन प्रोत्साहन गराउदै लैङ्गिक हिंसा नियन्त्रणमा चेतनाको समेत विकास गराउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको शाखा अधिकृत तामाङ्गले बताउनुभयो ।

कार्यक्रम लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा विश्व एचआईभी एड्स विरुद्धको दिवसको अवसर पारेर आयोजना गरेको हो । कार्यक्रम सिद्धिचरण नगरपालिकाको महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखाको संयुक्त आयोजना तथा सोच नेपालको सहआयोजनामा सम्पन्न भएको हो ।

प्रतियोगितामा नगरपालिकाका १५ सामुदायीक विद्यालयका ३० जना सहभागी हुने भनिएपनि चारओटा विद्यालयका आठ जना छात्रछात्राहरुको मात्रै सहभागीता रहेको थियो । प्रतियोगिता सञ्चालनका क्रममा ढिला आईपुगेका कारण जन्तरखानी मावि मैदानेका दुई छात्राले भने प्रतियोगितामा सहभागी हुन पाएनन् ।