नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गाका सबै स्थानीय तहमा बेड सहितको अस्पताल

ओखलढुङ्गान्युज, मंसिर १६, २०७७ । ओखलढुङ्गा । समयमा नै निर्माण प्रकृया सम्पन्न गर्ने गरि ओखलढुङ्गाका छ ओटै स्थानिय तहमा भवनको सिलान्यास गरिएको छ । नेपाल सरकारले घोषणा गरे बमोजिम शोमबार देशभर अस्पताल भवन निर्माणका लागि सिलान्यास गरिदै गर्दा ओखलढुङ्गाका स्थानीय तहहरुमा पनि सिलान्यास सम्पन्न गरिएको हो ।

शोमबार जिल्ला भित्रका अस्पताल नभएका स्थानीय तहहरु चिशंखुगढी गाउँपालिका, मोलुङ गाउँपालिका, सुनकोसी गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका, खिजीदेम्वा गाउँपालिका र लिखु गाउँपालिकाले अस्पताल भवन निर्माणको लागि शिलान्यास गरेका हुन् । चालु आर्थिक बर्षमा शिलान्याश गर्ने मिति सहित प्रत्येक स्थानीय तहलाई सरकारले ७० लाखका दरले बजेट निकासा गरेको थियो । सरकारको निर्देशन बमोजिम स्वास्थ्य चौकी मात्र भएका ओखलढुङ्गाका ६ तहले सरकारले तोकेको मितिमै अस्पताल शिलान्याश गरेका हुन् ।

शिलान्याश गर्नेक्रममा निर्वाचित जनप्रतिनिधीहरुले सरकारले तोकेकै मिति भित्र निर्माण कार्य सकेर अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । भवन शिलान्याश गरिएका जिल्लाका ६ स्थानीय तहमध्ये सुनकोसी र मोलुङ गाउँपालिकामा संघीय प्रतिनिधी सभाका सांसद माननिय यज्ञराज सुनुवारले शिलान्यास गर्नुभएको छ । त्यस्तैगरि अन्य चार तहहरु खिजिदेम्बा, चिशंखगढी, लिखु, मानेभञ्ज्याङ्गमा भने गाउँपालिका अध्यक्षहरुले शिलान्याश गर्नुभएको छ ।

जिल्लाका ८ स्थानीय तह मध्ये सिद्धिचरण नगरपालिकामा जिल्ला अस्पताल र चम्पादेवी गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् । जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रको स्तरबृद्धिका लागि समेत बजेट आएको छ । चम्पादेवी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पताल बनाउन ३ करोड र अन्य तहमा नयाँ निर्माणका लागि प्रत्येक स्थानिय तहलाई ७ करोड बजेट अर्थ मन्त्रालयले बहुबर्षे आयोजना अन्तर्गत विनियोजन गरेको थियो ।

चम्पादेवी गाउँपालिकाले पनि रानीवनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा थप भवन निर्माणका लागि शिलान्याश गरेको छ । यी अस्पताल निर्माण पुरा भएसँग ओखलढुङ्गाका सबै तहमा आधारभूत अस्पताल सेवा पुग्ने छ ।