नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

भिमेश्वर मन्दिरमा फेरी पसिना आयो, के को संकेत ?

ओखलढुङ्गान्युज, मंशिर १०, २०७७ । काठमाण्डौं । मंगलवार दोलखा जिल्लाको चरिकोटमा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरि पसिना आएको छ । मन्दिरको शीलामा पसिना आएसँगै त्रास भएको मन्दिरका पुजारीले बताएका छन् ।

मन्दिरको शीलामा मंगलबार मध्याह्न १:४५ देखि पटक पटक गरी ३:४५ सम्म पसिना आएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। भीमेश्वर मन्दिरको शीलालाई ‘पसिना’ आउँदा देशमा अत्यन्त अनिष्ट वा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रही आएको छ । पसिना आएको उक्त समयमा मन्दिरका पुजारीहरुले पूजापाठ गरेका छन् । उक्त सूचना पाउनासाथ प्रशासन कार्यालय तथा सुरक्षा निकायको आकस्मिक बैठक समेत बसेको छ।

भीमेश्वर मन्दिरको शिलामा पसिना आउँदा राष्ट्रप्रमुखसमक्ष महाप्रसाद पठाउने चलन छ। सोहीअनुसार बुधवार राष्ट्रपतिसमक्ष भीमेश्वर मन्दिर भगवानको महाप्रसाद पठाइने तयारी गरिएको छ । गत वर्ष पनि भीमेश्वर मन्दिरमा पसीना आएको थियो । प्रचलन अनुसार नै राष्ट्रपतिसमक्ष भीमेश्वर मन्दिर भगवानको महाप्रसाद बुधवार पठाइने सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ।