नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

राज्यमन्त्री गुरुङले गरे मान्द्रे दोभान पुलको अनुगमन

ओखलढुङ्गान्युज, मंशिर , २०७७ ओखलढुङ्गा प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्रि तथा ओखलढुङ्गाका सांसद अम्बिरबाबु गुरुङले निर्माणाधिन मान्द्रे दोभान पुलको अनुगमन गर्नुभएको छ । राज्यमन्त्रि गुरुङले आईतवार दिउसो निर्माणाधिन पुलको अनुगमन गर्नुभएको हो ।

राज्यमन्त्री गुरुङ केहीदिन देखी ओखलढुङ्गामा नै रहनुभएको छ । राज्यमन्त्री गुरुङसँगै प्रदेश नं. १ मुख्यमन्त्री शेरधन राई समेत निर्माणाधिन पुलको अवस्थाका बारेमा अनुगमनका लागि आउने भनिएपनि कार्यव्यस्तताका कारण अनुगमनमा सहभागी हुनुभएको छैन । मुख्यमन्त्री राई पनि शुक्रबार ओखलढुङ्गा आउनुभएको थियो ।

मुख्यमन्त्री राई प्रदेशको कार्यक्रमका शिलशिलामा आईतवार सोलुखुम्बुमा नै ब्यस्त भएपछि राज्यमन्त्री गुरुङ मात्रै हेलिकप्टर मार्फत निर्माणाधिन पुलको आयोजना स्थलमा नै पुग्नुभएको हो । अनुगमन पश्चात सहभागीहरुलाई सम्बोधन गर्दै पुलको निर्माण कार्य चाडै सम्पन्न गराउन लगाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

करीब १० वर्ष अगाडी ठेक्का लागेको मान्द्रेदोभान मोटरेवल पुलको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । ठेकेदारले लामो समयसम्म पनि निर्माण कार्य सम्पन्न नगरेको भन्दै मन्त्रीसँगै पटकपटक संघ तथा प्रदेशका सांसदहरुले समेत अनुगमन गरेका थिए । २०७६ सालको असोज महिनामा पनि अन्तिम पटक भन्दै जिल्लामा बसेको सर्वपक्षीय बैठकले पुलको निर्माण कार्य सकाउन ठेकेदार कम्पनीलाई २०७६ सालको चैत मसान्त सम्मको लागि अन्तिम समय दिएको थियो ।