नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

दशैमा पिङ खेल्न र खेलकुदको आयोजना गर्न चिशंखुगढीमा नपाईने

ओखलढुङ्गान्युज, कात्तिक , २०७७ चिशंखुगढी चाडवाडको समयमा अनवश्यक भिडभाड नगर्न र पिङ नखेल्न तथा खेलकुदका कार्यक्रम आयोजना नगर्न गाउँपालिकावासीलाई अनुरोध गरेको छ । गाउँपालिकाले शुक्रबार एक अपिल जारी गर्दै गाउँपालिकावासीमा यो अनुरोध गरेको हो ।

कोरोना भाईरसको संक्रमणको त्रासम विश्व नै आक्रान्त भैरहेको बेला नेपाल तथा ओखलढुङ्गा जिल्ला समेत उच्च जोखिममा रहेको भन्दै आउदै गरेको चाडवाडमा विशेष ध्यान दिन गाउँपालिकाले अपिल मार्फत अनुरोध गरेको हो । गाउँपालिकाले अपिल मार्फत भनेको छ, ‘कोरोना भाईरसको बर्तमान जटिल, चुनौतिपूर्ण, प्रतिकूल एवम् विषम परिस्थितीमा सबै आम नागरिक सचेत, सजग एवम् संयम हुन जरुरी छ । संक्रमण बढ्दै गरेको अबस्थामा मानविय सानो व्यबहारले हुने भयावह स्थितीलाई रोक्न आम नागरिकको सामूहिक प्रयास र प्रतिबद्धता अति महत्वपूर्ण हुने गर्दछ । त्यसैले प्रतिकूल परिस्थितीमा मनाईने विजया दशमी विगतका वर्षहरुको भन्दा पृथक एवम् विशेष तवरले मनाउन चिशंखुगढी गाउँपालिका सबैलाई अनुरोध गर्दछ ।’

गाउँपालिकाले भाईरसको सक्रमणको प्रभावलाई कम गर्न अनावश्यक भिडभाड, पिङ स्थापना गरि खेल्ने खेलाउने, खेलकुदका कार्यक्रम, जमघट हुने प्राकृतिक धार्मिक, सांस्कृतिक एवम् सामाजिक परम्पराका कार्यहरु नगर्न नगराउन समेत पालिकाले अपिल मार्फत अनुरोध गरेको छ । त्यस्तै कानूनद्वारा बर्जित काम जस्तै ः जुवातास, कोलाहल, हुलहुज्जत, भिडभाड, मदिराजन्य पदार्थको प्रयोग तथा शान्ति सुरक्षामा आँच आउने जस्ता कृयाकलाप गरेमा कानून अनुसार कार्वाही हुने पनि पालिकाले जनाएको छ ।

जनस्वास्थ्य सम्बन्धिको मापदण्ड अपनाएर मात्रै चाडवाड मनाउन र सकेसम्म आफ्नै परिवार भित्र मात्रै रहेर चाडवाड मनाउन पालिकाले सबैमा अनुरोध गरेको छ । गाउँपालिकाको अपिललाई ध्यानमा राखि सुरक्षित तवरले चाडवाड मनाउनका लागि अपिल मार्फत अनुरोध गरिएको चिशंखुगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले जानकारी दिनुभयो ।