नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुल्यो, मृतक ४ जना ओखलढुङ्गाका

ओखलढुङ्गान्युज, कात्तिक , २०७७ ओखलढुङ्गा गएराती उदयपुरको भदौरेमा स्कारपियो दुर्घटनामा परि ज्यान गुमाउने सबैको पहिचान खुलेको छ । ज्यान गुमाउनेहरु मध्ये १ महिला सहित ४ जना ओखलढुङ्गाका र १ जना उदयपुरका रहेका छन् ।

ज्यान गुमाउनेहरुमा ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ९ माधवपुरका ४६ बर्षीय राम बहादुर सार्की, ४० बर्षीय  खड्ग बहादुर सार्की, ३५ बर्षीया नरिमाया सार्की र २७ बर्षीय  कर्मे भन्ने कर्ण बहादुर सार्की रहेका छन् ।  त्यसैगरी उक्त घटनामा परि ज्यान गुमाउने अर्का व्यक्ति उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ८ शिरिसेका ३० बर्षीय महेश बहादुर बि।क। रहेका छन्  ।

भैरहवाबाट ओखलढुङ्गा तर्फ आउदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो गाडी गएराती करीब १ बजेतिर कटारी नगरपालिका वडा नं. १४ भदौरेमा दुर्घटनामा परेको थियो । सिद्धिचरण राजमार्ग सडक खण्डमा पर्ने उक्त स्थानमा आईपुक्दा गाडीको ब्रेक फेल भई सडकबाट अन्दाजी १ किलो मिटर तल झरेको थियो ।

गाडीका चालक रुपन्देहीका पवन खड्का, गाडीमा सवार रहेका मानेभञ्ज्याङकै कल्पना सार्की र कुमारी सार्की गम्भिर घाईते भएको  छन् । घाईते भएका चालक खड्का र कल्पनाको अबस्था गम्भिर रहेकोले उनीहरुको थप उपचारको लागी बिराटनगर तर्फ पठाईएको छ । त्यस्तै अर्का घाईते  कुमारी सार्कीको भने कटारी अस्पतालमा उपचार भईरहेको उदयपुर प्रहरीले जनाएको छ । बिहान सम्म ३ जना मृतकको पहिचान खुलेको थिएन ।