नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

स्थानीय सडक सञ्जाल नागरिकको आम्दानीको श्रोतसँग जोड्नुपर्छ ः सांसद सुनुवार

ओखलढुङ्गान्युज, असोज ३०, २०७७ । ओखलढुङ्गा । प्रतिनिधी सभाका सांसद माननिय यज्ञराज सुनुवारले स्थानीय सडकलाई नागरिकको आम्दानीको श्रोतसँग जोडिनुपर्ने बताउनुभएको छ । केहि दिन देखी आफ्नो निर्वाचन क्षेत्रको विभिन्न सडकको नियमित अनुगमन गर्दै रहनुभएका सांसद सुनुवारले टोटोलमा पुगेका सडकको माध्यमबाट नागरिकको जिविकोपार्जन सुधारका लागि आम्दानीको श्रोतसँग जोड्नुपर्ने बताउनुभएको हो ।

सांसद सुनुवार लगायत प्रदेश नं. १ अर्थ समितिका सभापति एवम् प्रदेश सांसद मोहन कुमार खड्का सहितको टोलीले विहिबार सुनकोशी गाउँपालिकाको च्यानम हुदै कटुञ्जे जोड्ने सडक अनुगमन गरेको थियो । अनुगमनका क्रममा कटुञ्जेको पोखरीडाँडामा आयोजित एक अनौपचारिक कार्यक्रममा उपस्थित स्थानीयलाई सम्बोधन गर्दै सांसद सुनुवारले ग्रामिण सडक आयातको माध्यम मात्र नभई निर्यातको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो ।

टोलटोलमा जोडिएको स्थानीय सडक सञ्जाल मार्फत कृषि उब्जनीलाई विस्तार गर्दै बजारीकरण बढाउनुपर्ने सांसद सुनुवारको भनाई थियो । जिल्लाका विभिन्न स्थानहरुमा निर्माण सम्पन्न भएका र निर्माणाधिन अवस्थामा रहेका सडकहरुको स्तरोन्नतीका लागि समेत आफुले पहल गर्ने बताउनुभयो । सडक सँगै सरकारले कृषिमा समेत लगानी गरिरहेकोले कृषकहरुको आर्थिक उपार्जन बृद्धिका लागि स्थानीय सरकारले आवश्यक योजना बनाएर अगाडी बढ्न समेत आग्रह गर्नुभएको थियो ।

त्यस्तै प्रदेश १ अर्थ समितिका सभापति एवम् प्रदेश सांसद मोहन कुमार खड्काले जिल्लाको विकासका लागि सडक, बत्ति, शिक्षा ,कृषि लगायतका क्षेत्रमा प्रदेशको तर्फवाट अधिकतम बजेट विनियोजन भैरहेको बताउनुभयो । सरकारवाट आएको बजेटलाई कार्यान्वयनका क्रममा आगामी दिनमा नागरिकहरुको आर्थिक समृद्धिसँग जोडेर लैजानुपर्ने तर्क थियो । विगतका दिनमा उधारोमा निर्माण गरिएका केही विकासका संरचनाका कारण अहिले पनि समस्या भैरहेको भन्दै कुनैपनि योजना उधारोमा सञ्चालन नगर्न समेत सभापति खड्काले आग्रह गर्नुभयो ।

सडक अनुगमनमा संघिय सरकारका सांसद यज्ञराज सुनुवार, प्रदेश नं. १ अर्थ समितिका सभापति मोहन कुमार खड्का हिमशिखर, सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारी, च्यानम र कटुञ्जेका वडा अध्यक्षहरु लगायतको सहभागीता रहेको थियो । अनुगमनको क्रममा स्थानीय नागरिकहरुले गाउँको विकास भैरहेको गतिबिधी सँगै समस्याहरुको बारेमा समते अनुगमनमा पुगेकाहरुलाई जानकारी गराएका थिए ।