नेपाली समय Loading...२०८२ असार २३ सोमबार

थपिएको समयमा काम नसके ठेकेदार कम्पनीलाई कालो सूचीमा

ओखलढुङ्गान्युज, असोज २६, २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा निर्माणाधीन अधुरा योजनाहरुको काम समयमा नै सम्पन्न गराउने सामूहिक प्रतिबद्धता गरिएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको आयोजनामा शनिवार आयोजित रुग्ण आयोजनाको समस्याको समाधान विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो सामूहिक प्रतिबद्धता गरिएको हो ।

समयमा नै काम नसकाउने ओखलढुङ्गामा कार्यरत योजनाका ठेकेदार कम्पनीलाई भने कालो सूचिमा राख्ने समेत कार्यक्रममा चेतावनी समेत दिईएको थियो । अन्तरक्रिया कार्यक्रमले जिल्लामा विकास निर्माणका काम जिम्मा लिएर अलपत्र छाड्ने ठेकेदारलाई काम सक्न अन्तिम पटक मौका दिईएको भन्दै अटेर गरेमा कानून अनुसार हुने चेतावनी दिईएको हो ।

वर्षौदेखि ठेक्का लागेर अलपत्र परेका ओखलढुङ्गाका विशेष गरेर सडक, भवन, पुलका योजनाको बारेमा छलफल भएको थियो । कार्यक्रममा सहभागी संघिय सांसद यज्ञराज सुनुवार, प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास राज्य मन्त्रि माननिय अम्बिरबाबु गुरुङ, प्रदेश सांसद एवम् प्रदेश नं. १ अर्थ समितिका सभापति माननिय मोहन कुमार खड्काले योजना अधुरै रहनुका कारणका बारेमा ठेकेदारलाई सोधपुछ गरेका थिए । कार्यक्रममा सम्बधित निर्माणाधिन योजनाका ठेकेदार भन्दा पनि तिनका प्रतिनिधीहरुको मात्रै सहभागीता रहेको थियो ।

निर्माणाधीन तर अलपत्र अबस्थामा रहेका पूर्वाधार विकासका काम तत्काल सम्पन्न गर्ने त्यसका लागि निर्माण व्यवसायीलाई अन्य सरोवारवालाले आवश्यक सहयोग गर्ने सामुहिक प्रतिवद्धता व्यक्त गरिएको छ । जिल्लाको भिजन एफएमले प्रत्यक्ष प्रसारण गरेको उक्त छलफल सुनेर नागरिकहरुले त्यसको कार्यान्वयन हुने कुरामा शंका नै रहेको बताएका छन् । अधुरा काम समयमा सम्पन्न गराउन पहल गर्ने र अटेर गर्नेलाई कानून अनुसार नै प्रक्रिया अगाडी बढाउन सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो ।