नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

भोली शनिवार देखी ओखलढुङ्गामा हटिया, बजार र यातायात खुल्ने

ओखलढुङ्गान्युज, असोज , २०७७ ओखलढुङ्गा असोज १० गते शनिवार देखी ओखलढुङ्गाका हटिया बजार खुल्ने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा बसेको जिल्ला विपद व्यबस्थापन समिति (डीसीएमसी) र जिल्ला कमाण्ड पोष्टको संयुक्त बैठकले असोज १० गते देखी ओखलढुङ्गा सदरमुकामका बजार र हटिया खुला गर्ने  निर्णय गरेको हो ।

सिद्धिचरण नरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको संयुक्त बैठकको निर्णय अनुसार शुक्रबार नै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सार्वजनिक सूचना समेत जारी गरेको छ । गत भदौ २४ गते जिल्ला समन्वय समिती ओखलढुङ्गाका प्रमुख जय बहादुर श्रेष्ठ तथा नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार बानिया सहित ९ जनालाई र २९ गते थप १८ जनामा कोरोना संक्रमण भएको पाईएसँगै ओखलढुङ्गामा हटिया सञ्चालनमा रोक लगाईएको थियो भने अन्य क्षेत्र सञ्चालनका लागि समय निर्धारण गरिएको थियो ।

जारि सूचनामा भनिएको छ, ‘भदौ २५ गते देखि अर्को सूचना नभए सम्मका लागि सिद्धिचरण नगरपालिकाको वडा नं. ११ र १२ सदरमुकाम क्षेत्रमा सवारी साधन, बजार, पसल, बैंक तथा वित्तिय संस्था सञ्चालन तथा व्यबस्थापनका लागि समय निर्धारण गरिएकोमा मिति २०७७ असोज १० गते शनिवार देखी लागू हुनेगरि उक्त व्यबस्था हटाउने र उक्त ब्यहोरा सबैलाई सूचित गर्ने ।’

बजार, पसल, सवारी साधन, बैक तथा वित्तिय संस्थाहरु सञ्चालनमा लगाईएको रोक हटाईएपनि कोरोना भाईरस संक्रमण दर बढ्दो क्रममा रहेको जनसुरक्षा सम्बन्धि मापदण्डको पालनामा भने कडाई गरिने भएको छ । हटियामा तरकारी र फलफुल बाहेक अन्य कारोबार गर्न पाईने छैन । हाट तथा बजारमा जाने पसले तथा उपभोक्ताहरुले मास्कलाई अनिवार्य प्रयोग गर्नुका साथै भौतिक दुरी कायम गर्नुपर्ने कुरालाई भने बैठकले यथावत राखेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो ।