नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

अनियमितता गर्नेलाई कार्बाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

ओखलढुङ्गान्युज, असोज , २०७७ ओखलढुङ्गा जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाले ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सरकारी निकायहरुले सूचना नदिएको भन्दै प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धतालाई कार्यान्वयन गर्न सञ्जालको तर्फवाट मंगलवार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पैरवी सञ्जालको तर्फवाट मंगलबार प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको ध्यानाकर्षण पत्रमा लामो समय सम्म पनि स्थानीय तहहरुले कोभिडको नाममा गरेका खर्चहरु सार्बजनिक नगरेको बताईएको छ । जिल्लाका अधिकांश स्थानीय तहहरुले आफुले पनि खर्च विवरण सार्बजनिक नगरेको र सूचना माग गर्दा समेत आलटाल गरेर सूचना उपलब्ध नगराएको उल्लेख छ । त्यस्तै जिल्लाका सरकारी कार्यालयहरुमा समेत सूचना माग गर्दा सूचना माग गर्नेलाई असहज हुने व्यबहार गर्ने गरेको भन्दै नागरिकहरुले पाउनुपर्ने सूचनालाई ओखलढुङ्गामा सुनिश्चितता गर्न ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्रमा चाडवाडको मुखैमा तथा लकडाउका कारण नागरिकहरुलाई समस्या भैरहेको बेलामा समेत मास्क, सेनिटाईजर तथा खाद्यान्नका सामाग्रीमा व्यापारीहरुले अप्रत्याशित मूल्य बृद्धि गरेको उल्लेख छ । लामो दुरीमा सञ्चालन भएका सवारी साधनहरुमा यात्रा गर्नेलाई काउन्टरवाट टिकट नदिने तथा गाडीमा चढेपछि चर्को भाडा लिने गरेको भन्दै आवश्यक अनुगमन तथा कार्वाहीको लागि समेत ध्यानाकर्षण गराईएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले नागरिक समाजको तर्फवाट उपलब्ध हुने सकारात्मक सुझाब र खबरदारीलाई आफुले सधै स्वागत गर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको तर्फवाट गरिएको प्रतिबद्धता अनुसार प्रत्येक ३÷३ महिनामा सेवा प्रदायक निकायले सार्वजनिक गर्नुपर्ने सूचना सार्वजनिक गर्ने कार्यलाई कडाई गर्ने बताउनुभएको छ । नागरिकहरुले पाउनु पर्ने सूचनाको हकलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालयको तर्फवाट गरिएका हरेक गतिबिधीहरुलाई आफ्नो वेईभसाईट मार्फत सार्वजनिक गरिरहेको बताउनुभयो ।

सरकारी निकायले नै सूचना नदिएको विषयमा पनि कार्यालय प्रमुखहरु मात्र सहभागी भएर बस्ने बैठकमा नागरिकको सूचना पाउनुपर्ने हकलाई कार्यान्वयन गर्न निर्देशन दिने समेत प्रतिबद्धता जनाउनुभएको छ । निर्देशनलाई अटेर गर्ने जुनसुकै कार्यालय तथा कर्मचारीलाई पनि कार्बाही प्रकृया अगाडी बढाईने भन्दै सूचना माग गरिएको विषयमा आफुलाई पनि जानकारी गराउन र राष्ट्रिय सूचना आयोगलाई समेत बोधार्थ दिन प्रमुख जिल्ला अधिकारी पौडेलले अनुरोध गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालयको तर्फवाट केही एक्सनको काम गर्न लागिएको भन्दै नागरिक समाज र सञ्चारकर्मीहरुको तर्फवाट निरन्तर खबरदारी तथा रचनात्मक सुझाब सल्लाहको लागि समेत आग्रह गर्नुभयो । साथै प्रमुख जिल्ला अधिकारी पौडेलले स्थानीय सरकारहरुले खर्च सार्बजनिक नगरेको विषयमा समेत तत्काल आफुले ईमेल मार्फत जानकारी पठाउने प्रतिबद्धता जनाउनुभयो ।

सेवा प्रवाह तथा विपद व्यबस्थापन सम्बन्धि कुनै पनि जिज्ञासा गुनासो भएमा जिल्ला प्रशासन कार्यालयको हटलाईन टेलिफोन नम्बरवाट टिपाउन समेत उहाँले आग्रह गर्नुभयो । नागरिकहरुको सहजताका लागि हटलाईन नम्बर सेवा उपलब्ध गराईएको भन्दै नागरिकहरुको गुनासोलाई तत्काल सम्बोधन गरि गुनासोको अवस्थाका बारेमा समेत सम्बन्धितलाई जानकारी गराईने बताउनुभयो ।

गत भदौ २३ गते सोच नेपाल ओखलढुङ्गको समन्वयमा बसेको जिल्ला पैरवी सञ्जालको बैठकले बैठकमा भएका छलफल अनुसार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो ।