नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

संविधान दिवसको अवसरमा २ सय ८९ जना कैदी छाडिँदै

ओखलढुङ्गान्युज, असोज ३, २०७७ । काठमाण्डौँ । संविधान दिवसको दिन आज (शनिबार) सरकारले २ सय ८९ जना कैदीलाई जेलमुक्त गर्ने भएको छ । लामोसमयसम्म जेलमा रहि कैद भुक्तान गरिरहेका र आचरण राम्रो रहेका कैदीहरुको सजायलाई छुट दिँदै जेलमुक्त गर्ने भएको हो ।

५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा असल चालचलन देखाएका र गम्भीर प्रकृतिको अपराधमा नपरेका कैदीलाई विभिन्न अवसरमा सजाय छुट दिएर छाड्ने व्यवस्था अनुसार जेलमुक्त गर्न लागिएको राष्ट्रपति कार्यालयले जनाएको छ । छैठौं संविधान दिवसको अवसर पारेर राष्ट्रपतिको स्वीकृतिमा कैदीलाई सजाय माफि गरेर छाड्न लागिएको हो ।

शनिबार छुट्न लागेका कैदीहरुमा सबैभन्दा धेरै वागमती प्रदेशका रहेका छन् । त्यस्तै शनिबार छुट्ने सबैभन्दा कम कैदीहरु कर्णाली प्रदेशका रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार प्रदेश १ का ६८ जना, प्रदेश २ का ३७ जना, वागमती प्रदेशका ८२ जना र गण्डकी प्रदेशका २३ जना कैदीलाई छाडिने भएको हो । त्यस्तै प्रदेश ५ का ५२, कर्णालीका १३ र सूदुरपश्चिम प्रदेशका १४ जना कैदीलाई छाडिने भएको छ।