नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

नेपालमा अहिलेसम्मकै सबैभन्दा बढि एकैदिन कोरोना संक्रमित

ओखलढुङ्गान्युज, असोज , २०७७ काठमाण्डौं एकैदिन नेपालमा लकडाउन भएको छ महिना यताकै सबैभन्दा बढि कोरोना भाईरसका संक्रमितहरु थपिएका छन् । शुक्रबार नेपालमा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या २ हजार २० भेटिएसँगै नेपालमा एकैदिन कोरोना संक्रमित हुनेहरुको संख्याले रेकर्ड बनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ ओटा पिसिआर परीक्षण गरिएको थियो । ती मध्ये २ हजार २० जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेहरुको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका प्रबक्ता डा. गौतमले देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको जानकारी दिनुभयो । सक्रिय संक्रमितहरु मध्ये संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।

त्यसैगरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट निको भई ८ सय ७१ जना डिस्चार्ज भएका छन् । योसँगै शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ । संक्रमितमध्ये १ सय ७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत रहेको पनि प्रबक्ता डा. गौतमले जानकारी दिनुभयो ।