नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

प्रशासनको सूचना अटेर गर्ने १ सय १५ जना कार्वाहीमा

ओखलढुङ्गान्युज, भदौ २८, २०७७ ओखलढुङ्गा पछिल्लो समय ओखलढुङ्गामा प्रशासनको सूचना अटेर गर्ने १ सय १५ जनालाई प्रहरीले कार्वाही गरेको छ । गत भदौ २३ गते ओखलढुङ्गामा एकैपटक जिल्लाका विशिष्ट व्यक्ति सहित ९ जनामा कोरोना भाईरस सक्रमणको पुष्टि भएपछि जिल्लाको वजार सञ्चालन तथा आवागमनमा प्रशासनले कडाई गरेको छ ।

कोरोना भाईरस संक्रमणको महामारीलाई ध्यानमा राखि गत बुधवार बसेको जिल्ला कमाण्ड पोष्ट र जिल्ला संकट व्यबस्थापन केन्द्रको संयुक्त बैठक बसी जिल्लामा सवारी आवागमन तथा व्यबसाय सञ्चालनको बारेमा निर्णय गरेको थियो । सोहि निर्णयलाई सार्वजनिक गर्दै एक सूचना समेत प्रकाशन गरेको थियो । प्रशासनको सूचनलाई अटेर गर्नेलाई संक्रामक रोग नियन्त्रण सम्बन्धि ऐन २०२० अनुसार कार्वाही गरिएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।

कोरोना भाईरस संक्रमणको विषयलाई मध्यनजर गर्दै प्रशासनले जिल्लामा सञ्चालित औषधी पसल र पेट्रोल पम्प बाहेक अन्य कार्यालय, होटल, पसल, यातायात लगायतको क्षेत्रलाई सञ्चालन गर्न समय सिमा निर्धारण गरेको छ । जस अनुसार हरेक दिन विहान ५ बजे देखी विहान ९ बजे सम्म मात्र तरकारी, फलफुल, दुध लगायत दैनिक उपभोग्य सामाग्री  ढुवानी गर्ने सवारी साधन तथा विक्रेता व्यत्तिः आवतजावत गर्न सक्नेछन् ।

त्यसैगरि विहान १० बजेदेखि दिउसो १ बजे सम्म मात्र सम्पूर्ण होटल, पसल व्यबसाय (टेक अवे सेवा मात्र), ढुवानीका साधनहरु सञ्चालन हुन पाउनेछन् । त्यस्तै अत्यावश्यक काम तथा सेवा लिन आउने व्यक्तिहरु सवार भाडाका सवारी साधन, सदरमुकाममा सञ्चालित बैंक तथा वित्तिय संस्थाहरु यस अबधिमा सञ्चालन हुन पाउने प्रशासनले सूचना जारी गरेको छ ।

त्यस्तै बाहिरी जिल्लावाट आएका ढुवानीका साधनहरुलाई लोड/अनलोड गर्न दिने, सदरमुकाम क्षेत्रको बाटो प्रयोग गरि जिल्लाको अन्य स्थानमा जाने सवारीका साधनहरुलाई सदरमुकाममा नरोक्ने गरि सञ्चालन हुन दिने सूचनामा उल्लेख छ । व्यक्तिगत कामको शिलशिलामा हिडडुल गर्नुपर्ने भएमा पनि जनस्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।

उल्लेखित सूचना अनुसारका शर्तहरु पालना नगर्नेहरुलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० अनुसार कार्बाही गरिने सूचनामा उल्लेख थियो । प्रशासनले जारी गरेको उक्त सूचनालाई कार्यान्वयन गर्ने क्रममा विहिबार ३८ जना, शुक्रबार ४८ जना र शनिवार २९ जना गरि १ सय १५ जनालाई कार्बाही गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

सूचना कार्यान्वयन गर्नु अगाडी गत बुधबार दिनभर सदरमुकाम क्षेत्रका विभिन्न स्थानमा माईकिङ गरि प्रहरीले टोलटोलमा पुगि सूचना सम्प्रेषण समेत गरेको थियो ।