नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

कन्ट्रयाक्ट ट्रेसिङका १ सय २ को स्वाब संकलन

ओखलढुङ्गान्युज, भदौ २५, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गामा विहिबार १ सय २ जनाको स्वाब संकलन गरिएको छ । विहिबार संकलन गरिएको स्वाबलाई कोरोना परीक्षणका लागि विहिबार अपरान्ह नै धुलिखेल पठाईएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।

जिल्ला समन्वय समितिका सभापति सहित गत मंगलबार ओखलढुङ्गाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ९ जनामा कोरोना संक्रमण भएको पाईएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा विहिबार १ सय २ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो ।

पहिलो चरणमा संक्रमितहरुको परिवार र उनीहरुको निरन्तर सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ । कन्ट्राक्ट ट्रेसिङमा आफुहरु परेको भनेर धेरैजनाको नाम आएपनि लक्षण देखिएकाहरुलाई प्राथमिकतामा राखेर स्वाब लिईएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ । विहिबार स्वाब संकलन गरिएकाहरुको आईतवार बेलुका देखी शोमबार विहानसम्म रिपोर्ट आउने र त्यहि रिपोर्टका आधारमा अरु कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गरिने सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ ।

यसअघि ओखलढुङ्गामा १ हजार ४ सय ७९ जनाको पिसिआर परीक्षण गरिसकिएको छ । त्यसमध्ये ओखलढुङ्गा जिल्लामा ४० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २८ जना कोरोना भाईरस संक्रमण निको भएर फर्किसकेका छन् भने १२ जना अहिले पनि सामुदायीक अस्पताल सोब्रु र जिल्ला अस्पताल रुम्जाटारको आईशोलेसनमा राखी उपचार भैरहेको छ ।

पछिल्लो समयमा ओखलढुङ्गामा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेसँगै ओखलढुङ्गा कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । जिल्लाको जोखिमलाई मध्यनजर गर्दै कोरोना संक्रमणको परीक्षणको दायरालाई बढाईएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ । जिल्ला उच्च जोखिममा परेसँगै जिल्लाको बजार आसपासमा यातायात सञ्चालन, बजार तथा होटल पसल सञ्चालनमा कडाई गरिएको छ । जिल्ला तथा स्थानीय तहमा सञ्चालनमा रहेका कार्यालयहरुको ईमर्जेन्सी सेवा बाहेकका काम तथा कार्यालयहरु समेत अहिले बन्द भएका छन् ।