नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

कोरोना बढेसगै नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा वन्द

सदरमुकाममा लाग्ने बुधबारे र शनिवारे हटिया पनि वन्द

ओखलढुङ्गान्युज, भदौ २४, २०७७ । ओखलढुङ्गा । मंगलबार नगरपालिका क्षेत्रमा थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेक अरु सेवा वन्द गरेको छ । मंगलबार एक सूचना जारी गर्दै सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले नगरपालिकाको अत्यावश्यक सेवा बाहेक अरु सेवा अर्को सूचना जारी नभएसम्मका लागि भन्दै वन्द गरेको जनाएको छ ।

मंगलबार नगरपालिकाको मुकाम क्षेत्र रहेको सिद्धिचरण नगरपालिका वडा नं. १२ मा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना भाईरस संक्रमण नफैलियोस् भनेर नगरपालिकाको सेवा कटौती गरेको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले ओखलढुङ्गान्युज डटकम लाई जानकारी दिनुभयो । नगरपालिकाले सूचना जारि गर्दै बुधबारबाट नगरपालिकाका अत्यावश्यक सेवा बाहेकका कर्मचारीहरुलाई कार्यालयले खोजेको बखत उपस्थित हुनेगरि होम क्वारेन्टाईनमा नै बस्न भनिएको छ ।

नगरप्रमुख श्रेष्ठका अनुसार नगरपालिकाका सबै शाखा खुल्ला नै भएपनि बुधबारवाट शाखा प्रमुख र पालो लाएर एक शाखा बराबर थप १ जना कर्मचारीलाई मात्र कार्यालयमा उपस्थिती हुन भनिएको छ । कार्यालय नै बन्द गरिएको भने हैन । कार्यालयवाट सेवा प्रदान हुने भएपनि कोरोना भाईरस संक्रमण हुनवाट बच्न सेवा प्रदायक र सेवाग्राहीलाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

त्यसैगरि भदौ २४ गते बुधबारवाट नै जिल्ला सदरमुकाममा लाग्ने बुधबारे र शनिवारे हटिया समेत अर्को सूचना जारि नभएसम्मका लागि भन्दै बन्द गरिएको नगरपालिकाले सूचना जारि गर्दै जानकारी गराएको छ । हटिया बन्द गरिएपनि सदरमुकामको बजार भने बन्द गरिएको छैन । सेवाग्राही नागरिकले आफु र अर्काको समेत स्वास्थ्यमा उच्च शसतर्कता अपनाउदै सामान खरिद गर्न सक्ने जनाएको छ । विशेष तरकारीको किनबेच हुने हटिया वन्द भएपछि तरकारी उत्पादन गरेर हटियामा विक्रि गर्ने कृषक र सेवाग्राही नागरिक मारमा परेका छन् ।

कृषकले उत्पादन गरेको तरकारीको बजार व्यबस्थापनको बारेमा चाडै निर्णय गरिने पनि नगरपालिका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यसअघि नै जिल्लाको मोलुङ गाउँपालिकाले रामपुर बजारमा लाग्ने हाट तथा खिजिदेम्बा गाउँपालिकाले समेत खिजिफलाटे बजारमा लाग्ने हटिया कोरोना संक्रमण बढ्न सक्ने भन्दै अर्को सूचना जारि नभएसम्मका लागि भन्दै बन्द गरिसकेको छ ।