नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

मानेभञ्ज्याङका १ सय ८० जनाको स्वाब संकलन

ओखलढुङ्गान्युज, भदौ १८, २०७७ । मानेभञ्ज्याङ । मानेभञ्ज्याङ गाउँपालिकामा १ सय ८० जनाको स्वाब संकलन गरिएको छ । संकलन गरिएको स्वाबलाई कोरोना परीक्षणका लागि आजै (विहिबार) पठाइएको जिल्ला कमान्ड पोस्ट ओखलढुङ्गाले जनाएको छ ।

बुधबार मानेभञ्ज्याङ गाउँपालिकाका एक स्वास्थ्यकर्मी र ४ सुरक्षाकर्मी सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका १ सय ८० जनाको स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको हो । बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

कोरोना संक्रमण भएको हुनसक्ने आशंकामा मानेभञ्ज्याङ र हर्कपुरका प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारीका साथै कन्ट्रयाक्ट ट्रेसिङमा देखिएकाहरुको स्वाब परीक्षणका लागि पठाइएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाका फोकल पर्सन एवम् जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

मानेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत ४ जना प्रहरी र हर्कपुर हेल्थ डेक्समा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोनस संक्रमण पुष्टि भएको थियो । संक्रमित पाँचै जनाको अहिले जिल्ला अस्पताल रुम्जाटारको आइसोलेसन कक्षमा राखी उपचार भइरहेको छ । गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएसँगै अर्को सूचना जारी नभएसम्मकालागि गाउँपालिकामा रहेको अत्यावश्यक सेवाका कार्यालय बाहेक सबै कार्यालय पसल बजार बन्द गरिएको गाउँपालिकाले एक सूचना जारी गरी जनाएको छ ।

यसैबिच मानेभञ्ज्याङ गाँउपालिकाको कोरोना संक्रमित व्यक्तिहरूको कन्ट्रयाक्ट ट्रेसिङको क्रममा सुनकोशी गाउँपालिकाका केही व्यक्तिहरु समेत रहेको भन्दै भदौ २५ गते सम्मका लागि सुनकोशी गाउँपालिका वडा नं 2 ले पनि आफ्नो वडाको चारै सिमानामा लागु हुनेगरी वडामा लक गरेको जनाएको छ ।