नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

एक स्वास्थ्यकर्मी सहित ओखलढुङ्गाका ५ जनामा कोरोना पुष्टि

ओखलढुङ्गान्युज, भदौ १७, २०७७ ओखलढुङ्गा ओखलढुङ्गाका थप ५ जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार कोरोनाको संक्रमण पुष्टि भएकाहरु ५ जना नै ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिका रहेका छन् ।

बुधबार कोरोना संक्रमणको पुष्टि भएकाहरुमा ४ जना प्रहरी र १ जना स्वास्थ्यकर्मी रहेको जिल्ला कमाण्ड पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । कोरोना भाईरस संक्रमणको पुष्टि भएका चारैजना प्रहरी बाहिरी जिल्लाबाट ओखलढुङ्गा जिल्लामा सरुवा भै आएका प्रहरीहरु रहेका छन् । उनीहरु ओखलढुङ्गा छिर्नासाथ मानेभञ्ज्याङ्ग गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै संक्रमणको पुष्टि भएका एकजना भने हर्कपुरमा रहेको हेल्प डेस्कमा काम गर्ने महिला कर्मचारी रहेकी छन् । संक्रमित महिला कर्मचारी लामो समयदेखी हेल्पडेस्कमा रहेर जिल्ला भित्रिएकाहरुलाई थर्मलगन मार्फत ज्वरो परीक्षण गर्ने काममा सहभागी भएकी थिईन् ।

संक्रमित पाँचैजनालाई जिल्लाको कोभिड उपचार केन्द्र रुम्जाटारमा रहेको आईशोलेशनमा राखेर उपचार गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि उनीहरु पाँचैजनालाई यो आईशोलेशनमा राखी उपचरका लागी जिल्ला अस्पताल रुम्जाटारमा ल्याईने क्रममा रहेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

पछिल्ला दिनमा ओखलढुङ्गामा सरुवा भई आउने बाहिरी जिल्लाका प्रहरी कर्मचारीहरुमा बढि मात्रामा कोरोना भाईरसको संक्रमण भएको पाईएको छ । जसका कारण ओखलढुङ्गामा कोरोना संक्रमण फैलने त्रास बढेको छ ।