नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गाका थप ४ जनामा कोरोना पुष्टि

ओखलढुङ्गान्युज, भदौ १४, २०७७ ओखलढुङ्गा ओखलढुङ्गाका थप ४ जनामा आईतवार कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले आईतवार आयोजित नियमित पत्रकार व्रिफिङ कार्यक्रमममा यस्तो जानकारी दिनुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएपनि आईतवार थपिएका ओखलढुङ्गाका चारैजना व्यक्ति कुन् कुन् स्थानीय तहका हुन् भनेर कुनै विवरण खुलेको छैन । जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले आईतवार संक्रमणको पुष्टि भएका चारैजनाको स्वाब ओखलढुङ्गाबाट नै भने नपठाएको जनाएको छ । शुक्रबार जिल्लाको खिजिदेम्बा गाउँपालिकाको ७२ जनाको स्वाब काठमाण्डौंमा आईतबार मात्रै पुगेकोले त्यसको रिपार्ट आउन बाकी रहेको जनाएको छ ।

हाल ओखलढुङ्गा जिल्लाका विभिन्न स्थानीय तहका साथै होल्डिङ सेन्टरमा करीब ८० जनाको स्वाब लिएर पिसिआर परीक्षणका लागि पठाउने तयारी भैरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो । होल्डिङ सेन्टरमा रहेकाहरुको बुधबार सम्ममा स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाईने सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ ।

आईतवार थपिएका चार जनाको बारेमा ओखलढुङ्गा जिल्लावाट नै स्वाब संकलन गरेर नपठाएपनि ओखलढुङ्गा जिल्ला स्थायी घर भएका तथा विभिन्न कारणले गर्दा बाहिर बसेका व्यक्तिहरुको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हुन सक्ने जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ । हाल ओखलढुङ्गा जिल्लामा दुईजना कोरोना संक्रमितहरु जिल्ला अस्पताल रुम्जाटारको आईशोलेसन कक्षमा उपचार गराईरहेका छन् ।