नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

सामुदायीक अस्पताल सोब्रुका ईमर्जेन्सी बाहेक सबै सेवा वन्द

ओखलढुङ्गान्युज, भदौ १२, २०७७ ओखलढुङ्गा सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गाको ओपीडि सेवा शुक्रबारका लागि स्थगित गरिएको छ । जिल्ला कमाण्ड पोष्टको शुक्रबार बसेको आकस्मिक बैठकले शुक्रबारका लागि सामुदायीक अस्पतालको ओपिडी सेवा बन्द गर्न अस्पताललाई निर्देशन दिएको हो । 

बुधबार काठमाण्डौं लगिएका नेपाली सेनाका जवानमा कोरोना संक्रमणको लक्षण देखा परेको थियो । पिसीआर परिक्षणका लागि समेत पठाईएकोले उनमा कोरोना संक्रमण हुनसक्ने र उनी संक्रमित भएको पुष्टि भएमा उनको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मी मार्फत अरुमा समेत कोरोना संक्रमण फैलन सक्ने भएकोले ओपिडी सेवा वन्द गर्न लगाईएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला कमाण्ड पोष्टको निर्देशन बमोजिम शुक्रबार अस्पतालका सबै सेवाहरु बन्द गरिएका छन् । अस्पतालका ईमर्जेन्सी सेवाहरु भने विशेष शतर्कता अपनाएर प्रदान गरिएको छ । कोरोना संक्रमणको आशंका गरिएको ति पुरुषको रिपोर्ट शुक्रबार नै आएपनि मात्रै अस्पतालको विषयमा अरु कदम चाल्ने समेत सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । शुक्रबार विहानै ओखलढुङ्गाका सञ्चार माध्यमहरुमा नेपाली सेनाका जवानमा कोरोना संक्रमण पुष्टि भएको भन्दै जिल्ला अस्पताल रुम्जाटार र सामुदायीक अस्पताल सोब्रुमा सिल गरिएको समाचार प्रकाशन गरेका थिए । तर ती पुरुषमा कोरोना संक्रमण भएको आधिकारीक पुष्टि भने भै नसकेको पनि भट्टराईले जानकारी दिनुभयो ।

पछिल्लो केहीदिन यता ज्वरो र रुघाखोकीले विरामी बनेका अरिदमन गण ओखलढुङ्गाका सैन्य पुरुषलाई एकदिन रुम्जाटार अस्पताललमा उपचार गराईएको थियो । रुम्जाटारमा उनको स्वास्थ्य सुधार हुन नसकेपछि अर्कोदिन सामुदायीक अस्पताल सोब्रुमा उनको उपचार गरिएको थियो । सामुदायीक अस्पतालमा समेत उनको स्वास्थ्य सुधार नभएपछि अस्पतालले काठमाण्डौं रिफर गरेकोले नेपाली सेनाको हेलिकप्टर मार्फत उनलाई काठमाण्डौं लगिएको थियो ।