नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गाका दुवै अस्पताल सिल गर्ने तयारी

विवेश श्रेष्ठ, भदौ १२, २०७७ ओखलढुङ्गा ओखलढुङ्गा जिल्लामा रहेको दुई ओटै अस्पताल सिल गरिने भएको छ । जिल्लामा रहेको जिल्ला अस्पताल रुम्जाटार र सामुदायीक अस्पताल (मिसन) सोब्रु ओखलढुङ्गा अस्पताल शुक्रबारबाट सिल गरिने भएको हो ।

ओखलढुङ्गा जिल्ला सदरमुकाममा रहेको नेपाली सेनाको अरिदमन गणका एक जवानलाई कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लाका यी दुवै अस्पताललाई सिल गर्न लागिएको हो । ज्वरो र रुघाखोकीका कारण विरामी भएपछि नेपाली सेनाका ती जवानलाई रुम्जाटार अस्पतालमा राखी उपचार गरिएको थियो । रुम्जाटार पछि पुन उनको उपचार सामुदायीक अस्पताल सोब्रुमा गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि कोरोना संक्रमणको आशंकामा उनको स्वाबलाई परीक्षण गर्दा शुक्रबार विहानै उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।  कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएसँगै उनको उपचार भएको स्थान दुवै अस्पताललाई सिल गर्न लागिएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाका फोकल पर्सन एवम् जिल्ला जनस्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार अस्पताल सिल गरिने भएपछि जिल्लाका दुवै अस्पतालवाट प्रदान गरिने सेवाहरु ठप्प हुनेछन् ।

अस्पताल सिल गरिदा सेवाग्राही नागरिकहरु प्रत्यक्ष मारमा पर्नेछन् । अस्पताल सिल गरिएको अबधीभर अस्पतालवाट प्रदान गरिने आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द हुनेछन् । विरामीको सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरुको पहिचान गरि उनीहरुको स्वाब संकलनका साथै पिसीआर परीक्षणका लागि पठाईने र उक्त रिपोर्ट नआएसम्म अस्पताल सिल गरिने जनस्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो ।

संक्रमित सिपाही काभ्रे जिल्ला घर भएका २५ वर्षिय पुरुष हुन् । एक महिना लामो घर विदा पश्चात गत असार १७ गते उनी ओखलढुङ्गा व्यारेकमा आएर हाजिर भएका थिए । पछिल्लो केही दिन यता उनको स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल रुम्जाटार र सामुदायीक अस्पताल सोब्रुमा उपचार गराईएको थियो । उपचारका क्रममा उनको स्वास्थ्यमा केही सुधार नआएपछि थप उपचारका लागि बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको थियो ।