नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा विद्युत अवरुद्ध, अझै पत्ता लागेन समस्या

ओखलढुङ्गान्युज, भदौ ८, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गामा विगत चारदिन देखि विद्युत अवरुद्ध भएको छ । विद्युत अवरुद्ध हुदा जिल्लाको सबै सञ्चार माध्यमहरु प्रत्यक्ष असर परेको छ भने सरकारी तथा बैङ्क वित्तीय संस्था सञ्चालनमा समेत समस्या पैदा भएको छ ।

विद्युत प्रसारण अबरुद्ध हुँदा आफ्नो एफएम बाहेक सबै रेडियोहरु बन्द भएको छ । विद्युत नआएको र निरन्तर वर्षातको कारण सोलार चार्जमा समस्या हुदा रेडियो प्रसारण बन्द गर्नुपरेको भिजन एफएमका स्टेशन म्यानेजर रविन श्रेष्ठले बताउनुभयो । रेडियो प्रसारण बन्द हुदा रेडियो ब्यबस्थापन टिमलाई थप आर्थिक भार थपिएको स्टेशन म्यानेजर श्रेष्ठको भनाई छ ।

त्यस्तै बत्ती पनि नआएको, निरन्तर झरिको कारण घाम नलाग्दा सोलार ब्याट्री पनि चार्ज नहुदा रेडियोको ब्याकअपले नधानेकोले रेडियो बन्द गर्नुपरेको रेडियो सहयात्रीका ब्यवस्थापक जिवन शर्माले बताउनुभयो ।

जिल्लामा एउटा मात्र रेडियो आफ्नो एफएमले भने रेडियो प्रसारणलाई जेनेरेटर प्रयोग गरि निरन्तरता दिएको छ । शोमबारपनि दिनभर बत्ती नआए आफुहरुले समेत रेडियो बन्द गर्नुपर्ने अवस्था सृजना हुने आफ्नो एफएम ओखलढुङ्गाका समाचार प्रमुख रामहरि श्रेष्ठले बताउनुभयो ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण लामो समय देखि लकडाउनले थलिएको सञ्चार माध्यमलाई विद्युतले थप थला पारेको छ । विद्युत अवरुद्ध भएको विषयमा विद्युत प्राधिकरण ओखलढुङ्गा वितरण शाखामा सम्पर्क गर्दा गाइघाट आसपासमा अबरुद्ध भएको र कुन स्थानमा समस्या भएको भन्ने बारेमा हालसम्म पत्ता नलागेको जनाएको छ । समस्या भएको स्थानको खोजी गरि समस्या समाधान गर्ने प्रयास भैरहेको कार्यालयले जनाएको छ ।