नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

विद्यालय सञ्चालन भदौ १६ पछि मात्रै

ओखलढुङ्गान्युज, साउन २८, २०७७ । काठमाडौं । भदौ १ गतेवाट सञ्चालन गर्ने भनिएको विद्यालय भर्ना अभियान तत्काल नहुने भएको छ । सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा र विद्यार्थी भर्ना अभियान भदौ १६ बाट मात्रै सञ्चालन गर्न दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । प्रवक्ता डा. खतिवडाका अनुसार सरकारले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी भदौ १६ गतेबाट परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको छ ।

साउन ५ गतेबाट सरकारले भदौ १ गतेबाटै परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि कतिपय विश्वविद्यालयहरूले भदौ दोस्रो हप्ताबाट परीक्षा सञ्चालनको तयारी गरेका थिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भने भदौ मसान्तसम्म विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नदिने सिफारिस गरेको थियो ।

विद्यार्थी भर्नाबारे निर्णय गरे पनि ‘फेस टु फेस’ पढाइ भने अझै अनिश्चित रहेको छ । मन्त्रिपरिषद बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका शैक्षिक संस्थाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।