नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

देशका १४ जिल्लामा निषेधाज्ञा जारी

ओखलढुङ्गान्युज, साउन २१, २०७७ काठमाण्डौं कोरोनाको संक्रमण दर तिब्र गतिमा फैलन थालेपछि समुदाय स्तरमा फैलन नदिनका लागि सरकारले देशका १४ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । १ सय २० दिन सम्म लकडाउन गरेको सरकारले लकडाउन खुलाएको केही समयमा नै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पहिलो चरणमा देशका १५ जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

नेपाल सरकारको गृह मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । १४ जिल्लामा निषेधाज्ञा जारी गरिएको भएपनि केहि जिल्लामा पूर्ण रुपमा र केही जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको हो ।

गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा छ भने सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा तोकिएको छ ।

यी बाहेक निषेधाज्ञा जारी गरिएका जिल्लाका कोरोना संक्रमणको दर उच्च देखिएका केही स्थानीय तह र केही वडामा मात्रै निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय देशमा कोरोना संक्रमितहरुको संख्या पुन थपिएपछि देशभर नै लकडाउन गर्ने वा अवस्था हेरेर केहि स्थानमा मात्रै लकडाउन गर्ने भन्ने विषयमा समेत सरकारले विज्ञहरुसँग छलफल थालेको छ ।